नवोदित युवाकवि नदिया लिबाङको कविता संग्रह ‘नदिया लहर’ न्यूयोर्कस्थित बेलाजिनो बेंकट हलमा गत शनिबार सार्वजनिक भएको छ।
प्रवासको ब्यस्त दैनिकीबीच जन्मभूमि नेपाल र नेपाली भाषा, साहित्यप्रति समर्पित रहेर कवितामा कलम चलाउएकी कवि नदियाको यो पहिलो कृति हो।
यस संग्रहमा कविले नेपाली समाजमा विद्यमान महिला हिंसा र बेचबिखनको कारूणिक चित्रलाई प्रस्तुत गरेकी छन्।
सामाजिक विकृति बिसंगतिबारे आवाज उठाएको संग्रहमा सामाजिक सचेतनाका पाटालाई समेटेको छ।
यस संग्रहमा यौन, प्रेम र जीवनको सारलाई कवि नदियाले विभिन्न विम्व र उपमाहरु प्रयोग गर्दै सबैले बुझ्नेगरी कवितामा ढालेकी छन्।
नेपाली परिवेशको जनजीवन अनि आममानिसको भोगाई र जीवन अनुभूतिहरुलाई उनले कवितामा समेटेकी छन्।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क च्याप्टरले आयोजना गरेको कार्यक्रममा वाणिज्यदूत एवम् कवि कृसु क्षेत्री, साहित्यकार एवं अनेसास केन्द्रीय सल्लाहकार गीता खत्री, अनेसास न्यूयोर्कका अध्यक्ष राजेन्द्र श्रेष्ठ, कवि नदिया लिबाङ र उनका पति विश्व थापाले संयुक्तरूपमा कविता संग्रह विमोचन गरेका हुन्।
कार्यक्रममा कविहरु कृसु छेत्री र गीता खत्रीले कविता संग्रह मा भएका कविताको बारेमा समीक्षा गरेका थिए। राजेन्द्र श्रेष्ठ, विकास बिष्ट, शारदा क्षेत्री, लक्ष्मी श्रेष्ठ, अर्जुन दाहाल, धन लामा, संगीता उप्रेती, ज्योति पौडेल, ज्योति कुमार श्रेष्ठ तथा विश्व थापाले शुभकामना दिएका थिए।
यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरे; प्राज्ञहरु डा. अमर गिरी र डा. ज्ञानु पाण्डे; अनेसासका केन्द्रिय वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीले कवि र कविता संग्रहका बारेमा समिक्षा गरेका थिए।
उनीहरुले “नदिया लहर” ले समाजमा विकृति बिसंगतिलाई उछिट्याउँदै समाजलाई सही दिशा तर्फ डोर्याउन अभिप्रेरित गर्ने बताएका थिए।
५६ वटा कविता समावेश संग्रह भित्र उत्कृष्ट कविताहरूको संग्रह रहेको तर्क गरेका थिए।