अमेरिकाको युलेस सिटी पब्लिक लाइब्रेरीमा अबदेखि नेपाली पुस्तक पढ्न पाइने भएको छ।
स्रस्टा साँझ अमेरिकाले लाइब्रेरीलाई उपहारस्वरूप विभिन्न स्रस्टाका पुस्तक हस्तान्तरण गरेसँगै अब पुस्तकालयमा आउने आगन्तुकले नेपाली पुस्तक पढ्न पाउने भएका हुन्।
युलेसको मेरी लिब सलेह युलेस पब्लिक लाइब्रेरीमा आयोजित एक कार्यक्रमबीच उक्त पुस्तक हस्तान्तरण गरिएको हो।
स्रस्टा साँझ अमेरिकाका संस्थापक प्रभात दीक्षितको अगुवाइ र युलेस सिटीका काउन्सिलर टीका पौडेलको व्यवस्थापनमा सो कार्यक्रमको आयोजना गरिएको हो ।
अब सो पुस्तकालयमा एउटा छुट्टै नेपाली सेक्सन बनाएर नेपाली समुदायबाट प्राप्त पुस्तक राखिने लाइब्रेरी को-अर्डिनेटर सेरीले जानकारी दिइन्।
यसैगरी, सिटी मेनेजर लोरेट्टाले नेपाली समुदायको यो कार्यले पुस्तकालय र नेपाली समुदायसँगको सम्बन्ध अझ नजिक बनेको भन्दै आगामी दिनमा यस्तै सहयोगको अपेक्षा राखिन्।
यसैगरी, युलेस सिटीको प्रमुख सार्वजनिक पुस्तकालयमा नेपाली शाखा विस्तार गरिनु नेपाली समुदायको महत्वपूर्ण उपलब्धि तथा सुनौलो अवसर भएको सिटी काउन्सिलर टीका पौडेलले बताए।
काउन्सिलर पौडेलका अनुसार सो पुस्तकालय ६ मिलियन डलर लागतमा सुविधासम्पन्न पुस्तकालयको रुपमा पुनःनिर्माण गरिएको हो। नेपाली समुदायको स्तरोन्नति एवम् अमेरिकन समुदायबीच सहज पहुँच बनाउन आवश्यक रहेकाले अब नेपाली समुदाय लक्षित कार्यक्रमलाई प्राथमिकता दिने पौडेलले बताए।
करिब १० हजार नेपालीको बसोबास रहेको युलेस सिटीको केन्द्रमा रहेको अत्याधुनिक पुस्तकालयमा अब नेपालीले आफ्नै भाषामा लेखिएका पुस्तक पढ्न सक्ने भएका छन्। स्रस्टा साँझ अमेरिकाका संस्थापक प्रभात दीक्षितले नेपाली भाषा, संस्कृति एवम् नेपालीपनको संरक्षण एवम् प्रवर्धनका आफू र आफ्नो संस्थाले अगुवाइ गरेको बताए ।
‘नेपाली समुदायले भाषा, संस्कृति एवम् नेपालीपन जोगाउनुका साथै अमेरिकी परिवेशमा घुलमिल हुनु अति आवश्यक रहेको हुँदा यो एउटा उपयुक्त माध्यम हुन सक्ने देखेर आज हामीसँग भएका पुस्तक हस्तान्तरण गरेका हौं,’ स्रस्टा साँझ अमेरिकाका अध्यक्ष बैकुण्ठराज आचार्यले भने।
आचार्यका अनुसार अमेरिकाको सार्वजनिक पुस्तकालयमा नेपालीले आफ्नै भाषामा पुस्तक पढ्न पाउने र यसले नेपालसँगको सामीप्यता अझ प्रगाढ हुनुका साथै यसले नेपालको पहिचान विश्वमाझ फैलाउन सहयोग पुर्याउने बताए।
यसैगरी, समुदायमार्फत गरिने यस्ता कार्य वास्तविक समाजसेवा हुने नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष विकासराज न्यौपानेले बताए। नेपाली समुदायको हितमा हुने जुनसुकै कार्यका लागि नेजा हातेमालो गर्न तत्पर रहेको अध्यक्ष न्यौपानेले बताए।