मोरङको हसन्दह–२ का चार युवा धान लगाउँदै आएको खेत भाडामा लिएर माछापालन व्यवसाय गरी राम्रो आम्दानी गरेका छन् ।
विसं २०७० मा वैदेशिक रोजगारीबाट फार्केका चारमध्ये एक युवक चेतन दाहालले भने, “२०७१ सालमा खर्च कटाएर २५ लाख आम्दानी भयो । गत वर्ष ६० लाख ।”
विसं २०७३ मा ७५ लाख आम्दानी हुने लक्ष्य रहेको उनको भनाइ छ । पन्ध्र बिगाहा जमिनमा धान लगाएकामा प्रत्येक साल १२ लाख मात्र अम्दानी हुन्थ्यो ।
खाद्य बालीको तुलनामा तेब्बरभन्दा बढी आम्दानी हुन थालेपछि त्यहाँका किसान माछापालनतर्फ आकर्षित भएका हुन् । उनीहरुको न्यू सगरमाथा नेचुरल फार्मले ४० लाखको लगानीमा १५ बिगहा जग्गामा माछापालन सुरु गरेको छ । जसमध्ये साढे १० बिघा क्षेत्रफलमा जलासययुक्त १३ वटा पोखरी छन् । उनीहरुले संञ्चालन गरेको माछा फार्ममा हाल स्थानीय चारजनाले रोजगारी पाएका छन् । बजारमा माछाको माग उच्च भएर धान्न गाह्रो भएको दाहालको भनाइ छ ।
पथरी शनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालीका र दुर्गापुरी र बाहिरबाट आउने व्यापारीलाई माछा दिन नसकेको उनको भनाइ छ । हाल पोखरीमा रहु, नैनी, ग्रासक्राप, कमनक्राप, विगहैड, सिल्भर, भाकर र हिलापिया गरी आठ जातका माछा छन् ।
‘कृषिमा यान्त्रिकरण सरकारको नारा मात्र बनेको छ । भारतमा माछालाई शत्रुबाट जोगाउन ‘फाँसीजाल’ को प्रयोग हुन्छ, नेपालमा त्यो सामान्य कृषियन्त्र हाम्रो पहुँचमा छैन’ फार्मका निर्देशक मनोजकुमार गौतमले भने।
माछाबाट राम्रो आम्दानी लिएको र बजारमा उच्च माग भएको देखेपछि अहिले हसन्दह २ मौलीबारीका नेत्र बस्नेत, धनबहादुर भट्टराई, सुवास निरौला, जगत भट्टराई र दिपक खड्काले दुई बाली हुने धान खेतमा पोखरी खनेर माछापालन शुरु गरिसकेका छन् । रासस