चितवनमा बर्डफ्लु देखापरेको छ। खैरहनी नगरपालिका–९ सुर्तनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु देखिएको हो।
राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाईंले केही दिनअघि परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएकामा वैशाख ३१ गते बर्डफ्लु प्रमाणित भएको बताए।
बिहीबारको मन्त्रिस्तरको निर्णयपछि फार्म र आसपासका क्षेत्रमा रहेका कुखुरा र हाँस मार्ने काम भइरहेको उनले बताए।
राजनको फार्ममा पालिएका एक हजार ५०० र लक्ष्मणको फार्ममा पालिएका एक हजार लेयर्स कुखुरा रोगले मर्न थालेपछि परीक्षणका लागि पठाइएको थियो। सँगै रहेका ती दुवै फार्मका सबै कुखुरा मरिसकेको चापागार्इंले बताए।
खोरमा रहेका कुखुरा धमाधम मर्न थालेपछि यही वैशाख १४ गते जाँचका लागि भरतपुरमा रहेको राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला ल्याइएको थियो। परीक्षणमा एच फाइव एन वान नामक जीवाणु भेटिएको चापागाईंले बताए।
सोपश्चात् केन्द्रीय प्रयोगशालामा परीक्षणका लागि नमूना पठाइएको थियो। केन्द्रीय प्रयोगशालाले वैशाख ३१ गते बर्डफ्लु प्रमाणित गरेर पठाएको थियो।
यसैबीच बर्डफ्लु पुष्टि भएपछि खैरहनी–९ सुर्तनीको केही भागलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ। उक्त क्षेत्रमा पक्षी तथा पक्षीजन्य पदार्थको ओसारपसारमा पनि रोक लगाइएको छ भने त्यस क्षेत्रमा रहेका पंक्षी सुरक्षितरुपमा नष्ट गरिएको छ।
यसैबीच पशु सेवा कार्यालयले कुखुराको खोर सफा गर्न अनुरोध गरेको छ। यो जीवाणु मानिसमा पनि सर्न सक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारणसमक्ष पनि कार्यालयले आग्रह गरेको छ।
यसअघि २०७० सालमा जिल्लामा बर्डफ्लु देखिएको थियो। सो समयमा बर्डफ्लुका कारण ठूलो संख्यामा कुखुरा मरेका थिए। नेपालको सीमा क्षेत्र भारतमा यस वर्ष पनि बर्डफ्लु देखा परेपछि नेपालमा उच्च सतर्कता अपनाइएको भए पनि बर्डफ्लु देखिएको हो।
कुखुराजन्य क्षेत्रमा नेपालमा ७० अर्बभन्दा बढी लगानी छ जसमध्ये आधाभन्दा बढी लगानी चितवनमा छ। रासस
https://youtu.be/z4rATtuixRI