बागलुङका तीन युवा मिलेर व्यावसायिक तरकारी खेती सुरू गरेका छन्।
जैमिनी नगरपालिका–७ जैदीका तमसम राना, खुमबहादुर राना र सूर्य राना कृषि उद्यमतिर लागेका हुन्।
वार्षिक रु ८० हजार तिर्ने गरी साढे चार रोपनी जग्गा भाडामा लिएर तरकारी खेती सुरू गरिएको युवा किसान तमसम रानाले बताए।
चारवटा प्लाष्टिक टनेलमा गोलभेँडा, सिमी, बोडी, जुकेनीलगायत तरकारी लगाएको उनको भनाइ छ।
‘तीन महिनाअघि तरकारीखेती सुरू गरेका हौं’, उनले भने, “पहिलो चरणको उपज बजारमा पठाउने तयारीमा छौँ ।”
तरकारीखेतीमा हालसम्म रु नौ लाख लगानी भइसकेको रानाले जानकारी दिए। युवा लक्षित कार्यक्रमअन्तर्गत जिल्ला युवा समितिले रु पाँच लाख अनुदान उपलब्ध गराएको छ।
‘उत्पादनतिर लाग्ने सोच पुरानै हो’, रानाले भने, ‘अनुदान पनि पाएपछि गर्नैपर्छ भनेर लाग्यौं।’ अनुदानबाहेकको लगानीमा तीनै युवाको बराबरी सहभागिता छ । बत्तीस वर्षीय राना स्नातकको अध्ययनलाई बीचैमा छोडेर कृषिकर्मतिर लागेका हुन्। यसअघि पनि उनले बागलुङ बजारमा व्यावसायिक कुखुरापालन गर्दै आएका थिए।
कुखुरापालन व्यवसायमा सफलता नमिलेपछि राना आफ्नो गाउँमै पुगेर व्यावसायिक तरकारीखेतीमा लागेका हुन्। रानाको सोच र योजनालाई अर्का दुई युवा खुमबहादुर र सूर्य रानाले साथ दिएका छन्। तीनैजना मेहनती भएका कारण तरकारीखेतीका लागि बाहिरी कामदार राख्नुपर्ने अवस्था छैन।
‘हामी आफैं खटेर काम गर्छौं’, खुमबहादुरले भने, ‘तरकारीखेतीसँगै बङ्गुरपालन र रेष्टुराँ व्यवसाय पनि चलाउने तयारीमा छौं।’
जैदीकै बेलबगरमा कालीगण्डकी करिडोरको किनारामा रेष्टुराँ निर्माणको काम अघि बढिसकेको उनको भनाइ छ । तरकारीखेती पनि सोही ठाउँमा भएकाले उत्पादनलाई बजार पठाउन सहज हुने भएको छ । राना यसअघि वैदेशिक रोजगारीका लागि मलेसियासमेत पुगेका थिए।
‘केही समय विदेशमा पनि काम गरियो’, उनले भने, ‘अहिले आफ्नै देशमा केही गर्ने लक्ष्यका साथ कृषि कर्ममा लागेका छौं ।”
मेहेनत र इमान्दारिता भए जुनसुकै व्यवसायमा सफल हुन सकिने विश्वास उनको छ। युवा कृषि उद्यममा लाग्नु सुखद भएको स्थानीयवासी शंकरप्रसाद पौडेलले बताए।
‘भर्खरका युवा कृषिमा लाग्नुभएको छ, उहाँहरूको मेहेनत लोभलाग्दो छ’, उनले भने, ‘यसबाट अरु युवालाई पनि प्रेरणा मिलेको छ ।’