दक्षिण चितवनको माडीका जनताले अब तोकिएका सामग्री निकुञ्जबाट ल्याउन पाउने भएका छन्।
माडी नगरपालिका र स्थानीय जनताको लामो प्रयासपछि चितवन राष्ट्रिय निकुञ्जले माडीबाट तोकिएका सामग्री ल्याउन दिने भएको हो। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले निकुञ्ज विभागले तोकेर परिपत्र गरेकाले ती सामग्रीलाई चेकजाँच गरी भरतपुर लैजान दिने जानकारी दिए।
सो निर्णयसँगै अब माडिका जनताले घरायसी प्रयोजनका लागि निजी जग्गामा उत्पादन भएको निउरो, अमृसो, खरेटो र कुचो निकुञ्जको बाटो हुँदै भरतपुर ल्याउन पाउँछन्।
यसअघि कुनै पनि चिज ल्याउन पाउने थिएनन् । कुचो, खरेटो २,३ वटा मात्रै र आफ्नै बारीको निउरो दुई मुठा मात्रै ल्याउन दिने निकुञ्जले जनाएको छ ।
यस्तै, बाँसका सामग्रीसमेत माडीबाट निकुञ्ज हुँदै भरतपुर ल्याउन दिने गरी विभागले परिपत्र गरेको चितवन निकुञ्जका प्रमुख ढकालले जानकारी दिए। उनका अनुसार तोकिएका सामग्रीबाहेक अरु ल्याउन पाइने छैन ।
घरायसी प्रयोजनका लागि चेकजाँच गरेर मात्रै भरतपुर ल्याउन दिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काद्वारा हस्ताक्षरित परिपत्रमा उल्लेख छ ।
विभागद्वारा पठाइएको परिपत्रमा, बाँसबाट बनेको उत्पादन डोको, नाङलो, डालो, तामालगायत सामान, आफ्नै बारीमा उत्पादन हुने अमृसा, खडेरो आदिको कुचा तीन वटासम्म र आफ्नै बारीमा टिपिएको बढीमा दुई मुठा निउरो लैजान दिने उल्लेख छ।
‘उल्लेखित विषयमा घरायसी प्रयोजनका लागि नियमानुसार चेकजाँच गरी माडीबाट लैजान पाउने व्यवस्थालाई सरलीकरण गर्न र माडीको स्रोतको अभिलेख दुरुस्त गर्न मध्यवर्ती क्षेत्र उपभोक्ता समितिलाई समेत परिपत्र हुन्,’ सो पत्रमा उल्लेख छ।
माडीका स्थानीय गोविन्द न्यौपाने माडीवासीले निकुञ्जको ऐन संशोधन नगरेसम्म सबै समस्याको हल नहुने बताए।