तीन दशक पहिलेसम्म चितवान जिल्लामा ३१२ जातका धान किसानले रोप्थे।
अहिले तीमध्ये अनदी जात बाहेक अधिकांश धानका जात हराइसकेका छन्। स्थानीय जात नै लगाउँछु भनेर किसानले खोज्दासमेत पाउने अवस्था छैन।
चितवानमा मात्रै होइन देशका अधिकांश क्षेत्रमा उन्नत र हाइब्रिड जातको धानको बीउको प्रयोग बढ्दै जाँदा स्थानीय जात हराउँदै हो।
तराईदेखि पहाडका ग्रामीण भेगसम्म किसानमा उन्नत र हाइब्रिड धानको बीउको प्रयोग बढ्दै गएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ।
स्थानीय जात हराएरै जानु राम्रो नभएको नार्कअन्तर्गतको बाली विज्ञान महाशाखामा कार्यरत प्राविधिक अतित पराजुली बताउँछन्। पुस्तौँदेखि रोपिँदै आएको जात त्यस ठाउँको हावापानीका लागि सुहाउँदो हुन्छ।
अहिले देशभर नै जलवायु परिवर्तनको असर धानबालीमा परेको छ। स्थानीय जातले देशभरको समस्या समाधान गर्न नसके पनि त्यस ठाउँको समस्या समाधान गर्न सक्ने थियो। उनी भन्छन् “तर अहिले अधिकांश ठाउँमा स्थानीय जात लोप नै भइसके।”
महाशाखा अहिले जलवायु परिवर्तनसँग जुध्न सक्ने बीउको विकास गर्नका लागि अध्ययन÷अनुसन्धानमा लागिरहेको छ। रोगसँग लड्न सक्ने स्थानीय जातको बिउ ल्याएर उन्नत जातका रुपमा विकास गर्न सकिने प्राविधिक पराजुली बताउँछन्।
नेपालमा एउटै जिल्लाको पनि सानो ठाउँमा फरक–फरकखालको हावापानी छ। ती ठाउँपिच्छे पुस्तौँदेखि फरक–फरक जातका धान लगाइँदै आएको थियो । तीमध्ये कुनैमा सुक्खा सहन सक्ने, कुनैमा अगौटे, कुनैमा रोगसँग लड्नेलगायतका गुण छन् । उनी भन्छन् “स्थानीय जातमा भएको राम्रो गुण ल्याएर उन्नत जातमा विकास गर्न सकिन्छ।” अहिलेमात्रै नभएर भविष्यमा समेत ठूलो रोगको प्रकोप आउँदा स्थानीय जात उपयोगी हुन सक्थ्यो।
स्थानीय जातका तुलनामा उन्नत र हाइब्रिडले बढी उत्पादन दिने भएकाले त्यसको प्रयोग बढेको प्राविधिक पराजुली बताउँछन्। नार्कले रोगसँग लड्ने क्षमता बढी भएको बीउ अनुसन्धान र विकास गरेर किसानलाई सिफारिस गरिरहेको छ। धानमा सबैभन्दा बढी मरुवा (ब्राल्ट) रोगले आक्रमण गर्छ। उनी भन्छन्। “हामीले यो रोगसँग लड्ने जातको विकास गर्न अध्ययन गरिरहेका छौँ ।”
उन्नत वा हाइब्रिडमा अरुखालका गुणभन्दा पनि किसानले कुनले बढी उत्पादन दिन्छ त्यही छनोट गर्दै आएका छन्। हाइब्रिडले उत्पादन बढी दिने भन्दै किसान महँगो तिरेर पनि हाइब्रिड जातका बीउ रोप्छन् । तराईमा एक÷दुईवटा जातका बीउ विकास भए पनि पहाडका लागि हाइब्रिड धानको बीउ सिफारिस भएको छैन । अरु देशको हावापानी अनुकूलका बीउ यहाँको हावापानी र माटोमा अनुकूल नहुँदा कुनै वर्षमा उत्पादन नदिँदा किसान हैरान छन् । प्राविधिक पराजुली भन्छन् “किसानले पनि एग्रोभेटका कुराका पछिमात्रै लाग्नुभन्दा राम्ररी बुझेरमात्रै किनेर लगाउनुपर्छ ।” एक वर्ष राम्रो भएको बीउसमेत अर्को वर्षमा नराम्रो हुन सक्छ।
नार्कले आयात गरेका बीउमात्रै नभएर स्थानीय जातबाट नै उन्नत जातको विकास गर्न सकिने भन्दै धेरै जातका धानलाई निरन्तरता दिँदै आएको छ। यहाँ भइरहेका जातबाट पहाडी क्षेत्रको मौसमलाई सुहाउँदो र उत्पादन बढी दिने बीउ अनुसन्धान भइरहेको छ । अनुसन्धानमा सफल नतिजा दिएका बीउ नै नार्कले पहिले किसानको खेतमा पनि परीक्षण गरेर सिफारिस गर्छ।
धान नेपालको मुख्य बाली हो । नेपालीले सबैभन्दा बढी खाने अन्न पनि चामल हो । त्यसैले पनि धान रोप्ने महिनालाई किसानले उत्सवका रुपमा ठान्छन्। असारको १५ मा हिलो छ्यापेर मनाउने र दही चिउरा खाने चलन छ । साउन १५ गते चिसो जाओस् भन्दै खीर खाने चलन छ। नेपाली समाजमा धानखेती जीवनशैली र संस्कृतिसँग जोडिएको छ। नेपालको तराईदेखि पहाडी क्षेत्रसम्म धान लगाइँदै आएको छ। सञ्चिता घिमिरे