कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल नेतृत्वको अनुगमन टोलीलले बालाजु औद्योगिक क्षेत्रभित्र दुग्ध उत्पादन कारखानामा छापा मारेको छ।
दुधमा अखाद्य वस्तु वस्तु भेटिएको तथा बजारमा आउने दुध वास्तविक परिणामा भन्दा कम हुने गरेको विवरणहरु सार्वजनिक हुन थालेपछि मन्त्रीको टोलीले छापा हानेको हो।
सोमबार बिहानै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारी लिएर खनाल औद्योगिक क्षेत्रमा रहेका डेरीको अनुगमनमा निस्किएका थिए। यस क्रममा आधुनिक डेरी प्रोडक्टमा दूध बनाउन प्रयोग गरिएको पाउडरको म्याद नखुलेको पाइएपछि अनुगमन टोलीले तीन वटा पाउडर गोदाममा सिल गरेको छ।
त्यस्तै टोलीले पुष्प डेरी फर्ममा समेत उत्पादन मापदण्ड अनुकूल नभएको भन्दै सिलबन्दी गरेको छ।
यस बाहेक दूध उत्पादन प्रणाली अवैज्ञानिक भएको तथा सरसफाइमा पर्याप्त ध्यान नदिइएको समेत पाइएको छ।
मन्त्री खनालले दूधजस्तो संवदेनशील पदार्थको उत्पादनमा डेरीहरूले पर्याप्त ध्यान नपुर्याएको प्रतिक्रिया दिएका छन्।
खनालले १०० वटा अन्य दुग्धजन्य पदार्थ बजारबाट संकलन गरी जाँचका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पठाइएको भन्दै त्यसको रिर्पोट आएपछि कैफियत देखिएमा अन्यलाई समेत थप कारवाही अघि बढाउने बताए।
‘दूधजस्तो मानव स्वास्थ्यमा गम्भीर प्रभाव पुर्याउने पदार्थको उत्पादनमा पर्याप्त ध्यान नदिएको पाइएकाले गोदामहरू सिल गरेका छौं’, खनालले भने, ‘यस विषयमा प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गर्छौं।’
त्यस्तै यसअघि नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको जाँचमा डेरी कम्पनीहरूले बजार पठाउने आधा लिटर दूधमा ११० मिलिलिटर कम गराएर ठगी गरिएको फेला परेको थियो।
यसअघि खनालसहितको टोलीले विराटनगरस्थित डिडिसीको क्षेत्रीय कार्यालयमा समेत अनुगमन गरेको थियो। सो क्रममा प्रविधि निकै पुरानो भएको, संस्थान आफैं अनियमिततामा फस्दै गएर घाटा चुलिँदै गएको भन्दै तत्काल सुधारका कदम नचालिए क्षेत्रीय कार्यालय बन्द गरिने बताएका थिए। खनालसहितको टोलीले गत सोमबार कालीमाटी फलफूल तथा तरकारी बजारको छड्के अनुगमन गरेको थियो।
त्यस्तै, तरकारी तथा माछा बेच्ने शैली अव्यवस्थित भएको भन्दै त्यसलाई सुधार गर्न बजार विकास समितिलाई निर्देशन दिएका थिए।
अनुगमनका क्रममा बिचौलियाका कारण एकै हाताभित्र ८ हजारदेखि २ लाखसम्म भाडा उठाइने गरिएको पाइएको थियो तथा एक जनाको नाममा विक्री स्टल लिएर अर्कैलाई भाडामा लगाएर राखिएको पाइएको थियो।
अनुगमन पश्चात कालिमाटी र बालाजुका फलफूल, तरकारी र माछा व्यापारीलाई रातो, निलो, पहेंलो र सेतो गरी चार भागमा वर्गीकरण गरिएको छ।
यसअनुसार बजार क्षेत्रमा उपस्थित नहुने, कारोबारमा संलग्न नहुने, अन्य व्यक्तिलाई कारोबार गर्न दिएका, बजार अनुगमन र नविकरणको समयमा मात्र उपस्थित हुने, विदेशमा रहेको र अन्य व्यक्तिबाट कारोबार गरिरहेको, पसल भाडामा लगाएका ९९ जना व्यापारीलाई रातो भागमा वर्गीकरण गरिएको छ।
रातो वर्गीकरणमा परेका व्यापारीको इजाजत पत्र खारेज गरी गोला प्रथाद्वारा नयाँ व्यापारीलाई स्टल प्रदान गर्नेसम्मको कारवाही गरिने मन्त्रालयले जनाएको छ।
त्यस्तै, एकको नाममा इजाजतपत्र लिइ अन्यबाट कारोबार गराउने तथा सम्झौता विपरीतका वस्तुको कारोबार गर्ने व्यवसायीलाई निलो सूचीमा वर्गीकरण गरिएको छ। यस सूचीमा राखिएका १३१ जना व्यापारीलाई नियमअनुसार बसेको र व्यवसाय गरेको प्रमाणसहित ७ दिन भित्र स्पष्टिकरण बुझाउन अल्टिमेटम दिएको थियो।
त्यस्तै स्वयंका साथसाथै अन्य व्यक्तिहरूबाट समेत कारोबार गराउने २०९ जना व्यापारीलाई पहेंलो सूचीमा राखी आगामी दिनमा गल्ती नगर्ने गरी सचेत गराएको थियो।
यी तीनबाहेक पूर्णरूपमा बजार विकास तथा सञ्चालन नियमावली २०६० र सम्झौता अनुसार कार्य गर्नेहरू १५९ जनालाई भने नमूना व्यापारी घोषणा गरिएको थियो।