इलाममा अलैँचीको (बिजु) बिरुवा बिक्न छोडको छ । अलैँचीको दाम घट्दै गएको र किसान आफैँसँग पर्याप्त बिरुवा भएका कारण बिरुवा बिक्न छोडेको हो।
विगतका वर्षहरूमा वैशाख महिनाबाट नै बिक्री हुने बिरुवा यसवर्ष असार पहिलो हप्ता बितिसक्दासमेत नर्सरीबाट बिरुवा नबिकेको सम्बद्ध किसानहरूको गुनासो छ। जिल्लाको सबैभन्दा बढी बिरुवा उत्पादन हुने रोङ गाउँपालिका–६ जिर्मलेबाट यस वर्ष बिरुवा निकासी नभएको स्थानीयवासी गोविन्द पौडेलले बताए। यहाँ रामसाइ, गोलसाइ, जिर्मले र साउने जातको अलैँचीको बिरुवा पाइन्छ।
यहाँका विभिन्न अलैँची नर्सरी उद्योग (यावा, बेद, अधिकारी र वाइवा) नर्सरी उद्योगबाट करीब ३२ लाख बिरुवा उखेलेर नष्ट गर्नुपरेको अधिकारी नर्सरी उद्योगका प्रोप्राइटर याम अधिकारीले बताए। विगत वर्षहरुमा निकै फस्टाएको अलैँचीको बिरुवाको व्यापार यसपालि घटेको छ।
कुनै समयमा नेपालकै निर्यात व्यापारको सबैभन्दा बढी हिस्सा ओगटेको अलैँची संक्रमणपछि मासिएको थियो। पुनः किसानले धान र मकैबारी मासेर अलैँची लगाउन थाले पनि भाउ घटेका कारण उनीहरू चिन्तित भएका छन्। कुनैबेला प्रतिमन एक लाख ४० हजार मसम्ममा बिक्री भएको अलैँची अहिले प्रतिमन २५ देखि ३० हजार बिक्री भइरहेको छ।
किसान अलैँची खेतीमा आकर्षित हुँदा बिरुवाको व्यापारसमेत फस्टाएको थियो। हाल किसानको अलैँचीखेतीप्रति मोह घट्दै गएका कारण नर्सरी उद्योग सञ्चालकसमेत चिन्तित भएका छन्।
गत वर्षदेखि नै मेची अञ्चलका जिल्लामा अलैँचीको बिरुवा जान छोडेको थियो। पश्चिम नेपालको दोलखा म्याग्दीलगागतका जिल्लामा निर्यात भएको बिरुवा यस वर्ष सो जिल्लामा समेत नगएको बताइएको छ।
अलैँची विकास केन्द्र सूर्योदय नगरपालिका फिक्कलका अनुसार यसवर्ष विगत वर्षहरुभन्दा कम बिरुवा बिक्री भएको छ। अलैँचीको दानाबाट उमारिएको विरुवाबाट चार वर्षदेखि मात्र उत्पादन दिने भए पनि झ्याङ फुटाएर रोपिएको बिरुवाबाट भने दुईवर्षदेखि उत्पादन हुने गरेको छ।