१५औं राष्ट्रिय धान दिवस दाङमा हर्षोल्लासपूर्वक मनाइएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ बन्नैमा शुक्रवार दिउँसो जनप्रतिनिधी, गाउँले र किसानले असारे भाषामा नाच्दै गाउँदै धान रोपेर यो दिवस मनाएका हुन । त्यसपूर्व गाउँलेहरुले बाजा गाजासहित असारे भाषा हालेर नाच्दै गाउँदै गाउँको समेत परिक्रर्मा गरेका थिए ।
तुलसीपुर उपमहानगरपालिकाको कृषि शाखाले आयोजना गरेको उक्त धान दिवसमा मेयर घनश्याम पाण्डे, उपमेयर माया आचार्य, वडा नं. ७ का वडा अध्यक्ष टोपबहादुर केसी, वडा नं. १८ का वडा अध्यक्ष माधव वली, वडा नं. १२ का अध्यक्ष श्याम डाँगी, नेकपा एमालेका पूर्व दाङ जिल्ला अध्यक्ष टिकाराम खड्का लगाएतका नेता कार्यकर्ताले किसानको खेतमा असारे भाषा हालेर गाउँदै नाच्दै धान रोपेर दिवस मनाएका हुन्।
जनप्रतिनिधि र शहर बजारका भद्र भलादमी तथा राजनीतिक दलका जिल्लाका शिर्ष नेताहरुले खेतमा गाउँदै नाच्दै धान रोप्न थालेपछि स्थानीय कृषक खुसी भएका थिए । किसान दशुराम चौधरीले जनप्रतिनिधी र राजनीतिक दलका नेताहरु आएर खेतमा गाउँदै नाच्दै धान रोपेपछि कृषिकर्म सबैभन्दा ठूलो कर्म रहेछ भन्ने अनुभूत भएको बताए।
‘अघिपछि भन्दा आज म ज्यादै खुसी छु , किनकी आज किसानको पनि सम्मान भएको छ ।’ चौधरीले भने । तर उनले सहज रुपमा रासायनिक मल, उन्नत विउ विजन पाउन नसकेको गुनासो गरे ।
त्यसपूर्व कार्यक्रमलाई सम्वोधन गर्दै मेयर पाण्डेले कृषि र पशुपालनको विकासको लागि तुलसीपुरमा दश करोड बजेट विनियोजन गरेको बताए । उनले व्यवसायिक कृषकलाई पोशाक, परिचय पत्र, खेत र गोठमै कृषि बैज्ञानिक उपलब्ध गराउने बाचा गरे । बाँझो खेतवारी राख्नेलाई कर बढी र तीन बाली लगाउने किसानलाई करमा सहुलित दिएर कृषि कर्मको सम्मान गर्न खोजेको मेयरले बताए । मेयर पाण्डेले परम्परागत कृषि प्रणालीमा रुपान्तरण आवश्यक रहेको बताए ।
ठूलो धनरासी विदेशवाट खाद्यान्न किन्नमै खर्च हुने भएको हुँदा अब आधुनिक खेतिले त्यो घाटा न्यूनिकरण गरे मात्रै देश संवृद्धिको मार्गमा लम्कने उनले बताए । उक्त वडा नं.७ का वडा अध्यक्ष टोपबहादुर केसी, कार्यक्रमलाई कृषि शाखा प्रमुख तिकल केसी लगाएतले सम्वोधन गरेको थिए ।