नेपाली अदुवा भारत निर्यातमा लाग्दै आएको प्रतिबन्ध हटेको छ। भारतले अदुवा आयातमाथि लगाउँदै आएको प्रतिबन्ध हटाउँदै नयाँ व्यवस्था लागू गरेको हो।
भारतले विदेशबाट अदुवा आयातमा रोक लगाउँदै आएको थियो। नेपाललाई सो सुचीबाट हटाउँदै ताजा अदुवा निर्यातमा भारतले बाटो खोलिदिएको छ।
भारतको बाणिज्य तथा उद्योग मन्त्रलाय अन्र्तगतको वाणिज्य विभागले विदेश व्यापार नीति संशोधन गरेर सहज प्रवेश दिने नयाँ व्यवस्था लागू गरेको हो।
बाणिज्य मन्त्रालयका प्रवक्ता रबिशंकर सैंजुले नयाँ व्यवस्थाले नेपाली किसानलाई अदुवा निकासी गर्न सहज हुने बताए। सैंजुले भारतले आफूहरुलाई पत्र लेखेर आगामी दिनमा अदुवा निकासीमा समस्या नबल्झने प्रतिवद्धता जनाएको समेत उल्लेख गरे।
‘भारतले हामीलाई पत्रमार्फत नयाँ व्यवस्थाबारे जानकारी गराएको छ। अब हामीले पठाउने अदुवालाई सहज प्रवेशमा रोक लाग्ने छैन’, सैंजुले भने, ‘यसले किसानलाई सजिलो बनाइदिएको छ।’
भारतले गत वर्षबाट जिएसीमार्फत वस्तु तथा सेवा सम्बन्धी नयाँ करको नीति लिएसँगै नेपाली अदुवा निकासी रोकिएको थियो। नेपालमा वार्षिक रुपमा ४ लाख टन अदुवा उत्पादन हुन्छ।
यसको करिब १० प्रतिशत स्वदेशमा खपत हुने गरेको छ भने वाकीं निर्यात हुने गरेको छ। आर्थिक वर्ष २०७२/७३ मा करिब ६४ करोडको अदुवा निर्यात भएकोमा जिएसटीकै कारण आ÷व ७३/७४ मा सो रकम घटेर २४ करोडमा खुम्चिएको थियो।
बजार नपाएर गत वर्ष ठूलो मात्रामा अदुवा खेर गएको थियो। भारतको नयाँ व्यवस्थाले किसानले बजार पाउने तथा अदुवा निकासी बढ्ने अपेक्षा गरिएको छ।
यद्यपी विभिन्न बहानामा नेपालबाट हुने कृषिजन्य सामाग्रीको निकासीमा बखेडा झिकिरहने भारतले अदुवालाई भने सहजरुपमा प्रवेश गर्न दिन्छ भन्नेमा किसानहरु अझै विश्वस्त देखिँदैनन्।