राष्ट्र बैंकको तथ्याङ्कअनुसार साउनदेखि बैशाखसम्म भारतबाट मात्रै ४ अर्ब ८६ करोड रुपैयाँको फलफूल आयात भएको छ।
नेपालमा खपत हुनेमध्ये अधिकांश फलफूल भारतबाटै आयात हुने गरेकोमा फलफूलको राजा मानिने आँपको माग भने अधिकांश स्वदेशीले नै धान्ने गरेको पाइन्छ।
कुल मागमा ६२ प्रतिशत स्वदेशी र ३८ प्रतिशत भारतीय आँप खपत भएको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिको तथ्याङ्कले देखाएको छ।
तथ्याङ्कअनुसार २०७४ बैशाख ४ गतेदेखि २०७५ असार २५ गतेसम्म अर्थात १५ महिनाको अवधिमा कालीमाटी फलफुल तथा तरकारी बजारमा कुल १५ लाख २७ हजार २ सय ११ किलो आँप आयात भएको छ। जसमा भारतीय आँपको परिमाण ५ लाख ९० हजार ६८० केजी छ।
भारतबाट आउने आँपभन्दा सिराह जिल्लाबाट मात्रै आयात भएको आँपको परिमाण धेरै छ। सिराहबाट सो अवधिमा ६ लाख ६७ हजार १ सय ५६ किलो आँप आयात भएको समितिको तथ्याङ्क छ।
१५ महिनाको अवधिमा सलार्हीबाट १ लाख १८ हजार, चितवनबाट ५० हजार, धादिङबाट २९ हजार २ सय, सप्तरीबाट २६ हजार ९ सय २५, झापाबाट २१ हजार, महोत्तरीबाट ८ हजार, काभ्रेबाट ६ हजार धनुषाबाट ३ हजार ७ सय ५०, पाल्पा, नुवाकोट तथा मकवानपुरबाट २/२ हजार केजी आँप आएको समितिले जनाएको छ।
समितिका अनुसार हाल आँपको औसत खुद्रा मूल्य प्रतिकेजी ९५ रुपैयाँ छ। यो मौसममा नेपालकै आँपले यहाँको माग धान्ने गरेको समितिले जनाएको छ।
काठमाडौंमा खासगरी मालदह, कलकत्ते, दसरी, बम्बई, मल्लिका, आम्रपाली तथा कृष्ण भोग जातका आँप बढी खपत हुने गरेको होलसेल ब्यापारी भरत खनालले जानकारी दिए।
सिराह, सप्तरी, महोत्तरी, सर्लाही लगायत तराई क्षेत्रबाट आउने आँप स्वादिलो र मिठो हुने उनले दावी गरे। ‘तराईबाट आउने आँप मिठो छ, सिजनका बेला सस्तो पनि भएकाले बजारमा अहिले त्यहीको आँपले नै राज गरिरहेको छ’ उनले भने।
काठमाडौंमा जेठको सुरुबाटै बम्बई, जर्दा र कलकत्ते जातको आँप आउँछ। त्यस्तै जेठको मध्यबाट असारको अन्तिमसम्म मालदहको सिजन हो।
भदौ असोजतिर र सिजन सकिएपछि भने भारतबाटै आँप आउने खनालले बताए।
कुन आँप कसरी चिन्ने ?
मालदह
बजारमा यो जातको आँप सबैभन्दा बढी चिनिएको छ। यो जातको फल अन्यभन्दा ठूलो हुन्छ। बोक्रा पातलो र नरम हुन्छ। गुदी पहेँलो, सुगन्धित र रसिलो हुन्छ। यो भण्डार क्षमता कम हुने मध्य मौसमी जातको आँप हो। अर्थात यो आँपलाई धेरै दिनसम्म भण्डारण गर्न सकिँदैन।
दशहरी
यो आँपको रुख मध्यम आकारको हुन्छ। फलको आकार अन्य जातको भन्दा लाम्चो हुन्छ। गुदी पहेँलो र रेसाविहीन हुन्छ। अन्यको भन्दा चिल्लो बोक्रा भएको सुगन्धयुक्त हुन्छ। यो भण्डारण क्षमता राम्रो भएको मौसमी जातको आँप हो। सिजन सकिएपछि पनि यो आँप बजारमा पाइन्छ।
बम्वई ग्रिन
यो मध्यम अण्डा आकारको फल हो। फल पाकिसक्दा पनि बोक्रा हरियो नै देखिन्छ। गुदी सुन्तला रङको र कम रेसादारयुक्त हुन्छ।
कृष्णभोग
यो आँपको फल गोलाकार हुन्छ। अन्य जातकोभन्दा यसको बोक्रा बाक्लो हुन्छ। साथै गुदी हल्का पहेँलो, रेसादारयुक्त हन्छ। यो भण्डार क्षमता उच्चतम भएको आँप हो। सिजन सकिँदा पनि यो आँप बजारमा पाइन्छ।