चिया बगानको संख्या इलाम जिल्लामा सबैभन्दा धेरै भए पनि उत्पादन भने झापामा बढी हुने गरेको पाइएको छ। केन्द्रिय तथ्याङ्क विभागले गरेको सर्वेक्षणअनुसार कुल ११ हजार ४१ वटा चिया बगान मध्ये इलाममा मात्रै ६ हजार ९ सय ९५ रहेका छन्।
व्यवसायिक उत्पादनमा भने झापा अग्रस्थानमा देखिएको छ। विभागका निर्देशक बद्री कुमार कार्कीले सबैभन्दा धेरै झापामा ८ करोड २५ लाख १७ हजार मेट्रिकटन हरियो चिया उत्पादन भएको बताए। भोजपुर जिल्लामा सबैभन्दा कम चिया उत्पादन हुने गरेको विभागले जनाएको छ।
संख्यात्मक रुपमा इलाममा बगान संख्या धेरै भए पनि खेती हुने क्षेत्रफल झापामा सबैभन्दा बढी ७ हजार १ सय ९५ दशमलब १५ हेक्टर रहेको छ। हरियो पत्ति बिक्रिबाट किसानहरुले १ अर्ब ७४ करोड २२ लाख १५ हजार ३ सय ६५ रुपैयाँ प्राप्त गरेको सर्वेक्षणले देखाएको छ।
विभागका अनुसार मुलुकभरका विभिन्न जिल्लामा गरी १ हजार २ सय ६७ हेक्टर क्षेत्रफलमा व्यवसायिक चिया खेती हुने गरेको छ। केन्द्रीय तथ्याङ्क विभाग र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गरेको सर्वेक्षणले १४ जिल्लाको १ हजार २ सय ६७ हेक्टर क्षेत्रफलमा व्यवसायिक चिया खेती हुने गरेको देखाएको हो। ९ हजार २ सय ३६ किसान परिवार यस खेतीमा संलग्न रहेको तथ्याङ्कले देखाएको छ।
सबै भन्दा बढी झापामा ७ हजार १ सय ९५ दशमलब १५ हेक्टरमा र सबै भन्दा कम मोरङ्गमा २५ हेक्टर क्षेत्रफलमा चिया खेती हुने गरेको छ।
परम्परागत रुपमा चिया खेती गर्ने किसानहरुको संख्या उच्च देखिएको छ। जम्मा ११ प्रतिशत कृषकले मात्रै अर्गानिक चिया खेती गर्ने गरेको र ५९ प्रतिशतले परम्परागत तथा ३० प्रतिशतले प्राङ्गापाक उन्मुख चिया खेती गरेको सर्वेक्षले देखाएको छ।