अवैद्य रूपमा भइरहेको खोलाजन्य बस्तुको उत्खनन्ले आधा दर्जन सिँचाई कुलो मासिएका छन्। मौजामा सिंचाई पुग्ने जस्पुर–उरहरी सिँचाई कुलोको मुहान मासिएपछि सात मौजाका सयौं किसान मर्कामा परेका हुन्।
सिँचाई कुलो मासिएपछि सोमबार सयौं किसानले तुलसीपुर उपमहानगरपालिका घेराउ गरेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ टरिगाउँस्थित ग्वार खोलामा जुस्पुर– उरहरी सिंचाई कुलोको मुहान नै नष्ट हुने गरि मिलेमतोमा बालुवा गिट्टीको चरम उत्खनन् गरिँदा कुलोमा पानी नआएपछि स्थानीय किसानले उपमहानगरपालिका घेराउ गरेका हुन्।
तुलसीपुर उपमहानगरपालिकामा घेराउ गर्न आएका वडा नं. ११ र १२ का सयौं किसानले तस्करसँगको मिलेमतोमा गिट्टी बालुवा निकासी भएको दाबी गरे। तलदेखि माथिसम्मको सेटिङमा अवैध बालुवा गिट्टी उत्खनन् हुँदा सयौं वर्षदेखि सात मौजामा सिँचाई हुँदै आएको कुलोको मुहान ध्वस्त भएकाले तत्काल कुलो निर्माण गरिदिन माग गरे।
‘चरम उत्खनन्ले खोला भासिएको छ, हाम्रो कुलो माथि भएको छ। कुलोमा पानी चढ्न सक्दैन। तत्काल त्यो मर्मत नभए हामी यही प्राण त्याग्न तयार हुनेछौं,’ घेराउ गर्न आएकी विन्दु बुढाथोकीले चेतावानी दिइन्।
निर्वाचनको क्रममा विभिन्न आश्वासन बाँढ्ने र ठूला सपना देखाएर भोट मागेका जनप्रतिनिधिले नै आज तस्करसँग मिलेर किसानको पेटमा लात हानेको अर्की महिला सविना चौधरीले बताइन्।
त्यस्तै अर्की महिला उशा भण्डारीले तुलसीपुरले सात मौजाको सिँचाई हुने कुलोको मुहान नष्ट हुने गरि मिलेमतोमा उत्खनन् गर्न दिएको भन्दै आक्रोश पोखिन्। ‘के आज हामीले यही दिन भोग्न तपाईँहरूलाई जिताएर पठाएका हौं,’– भण्डारीले भनिन् ‘त्यही किसानको भोटले जितेर आज तिनै किसानको विरुद्धमा उभिन लाज लागेन है।’
दुधे बालक काखमा च्यापेर आएका महिलादेखि कपाल फूलेका सयौं किसानले दुई चार जना तस्करलाई पोस्न हजारौं आफूजस्ता किसानको पेटमा लात हान्ने काम गरेको भन्दै आक्रोस पोखेका थिए।
जस्पुर निवासी धनबहादुर केसीले तलदेखि माथिको सेटिङमा चुनावको खर्च उठाउन जनप्रतिनिधि तस्करसँग मिलेर सयौं किसानको भविस्य माथि खेलवाड गर्नु विडम्वना भएको बताए।
सात मौजामा सिँचाई हुँदै आएको पुस्तौंदेखिको सिँचाई कुलोको मुहानै ध्वस्त हुने गरि चुल्ठे मुन्द्रे राखेर सोझा किसानलाई ज्यान मार्ने धम्की दिएर दिनरात उत्खनन् हुँदा समेत स्थानीय सरकार र प्रशासन मौन बसेको केसीले बताए। ‘तपाँईहरूलाई सात मौजामा सिँचाई हुने कुलोको मुहान ध्वस्त पार्ने गरि उत्खनन् गर्न दिने अनुमति दिने अधिकार कसले दिएको हो? त्यसको जवाफ दिनुपर्छ,’ केसीले भने ।
उत्खनन्को अनुमति दिइँदा उनीहरूले निर्धारित मापदण्ड भन्दा मनपरी उत्खन् गर्न जेसिबी लगाएर ठूला खाडल खनेपछि खोला गहिरिएको हो। खोला गहिरिएपछि कुलोमा एकथोपा पानी बग्न नसकेकाले बाध्य भएर घेराउ गर्न आएको अर्का किसान युवाराज केसीले बताए। ‘साउनको महिना सुरू भइसक्दा समेत खेतमा एक थोपा पानी छैन। मेयरसाप, किसानलाई मारेर तपाईँले कस्तो विकास ल्याउन खोज्नु भएको हो,’ उनले प्रश्न गरेका थिए।
उनले जनप्रतिनिधिलाई आफैं तस्करसँग मिलेर समस्या सृजना गर्ने र आफैं समस्या समाधन गर्ने नाटक नगर्न आग्रह गरे।
चर्कौ दोहनले सिँचाई कुलोको मुहान ध्वस्त हुँदा तटवन्ध गरी पहिलेको जस्तै आफ्नो खेतसम्म पानी लैजान मिल्ने कुलो बनाई दिन जस्पुर–उरहरी सिंचाई कुलोका अध्यक्ष रुपलाल रेग्मीले माग गरे। ‘करौडौं कुम्याएर आठ लाख दिने कुरा हामीलाई स्वीकार्य छैन। हामी हाम्रो कुलो आफैं जनश्रमदान गरेर निर्माण गर्नसक्छौं। तर, त्यहाँ हामीलाई गुण्डाहरुले ज्यान मार्ने धम्की दिने गरेका छन्। त्यो रोकिदिनुहोस,’ अध्यक्ष रेग्मीले भने।
खोलामा बालुवा गिट्टीको तस्करी गर्दै आएका व्यक्तिहरुले आफूहरूलाई खोलामा बाँध बाँध्न नदिएको, ज्यान मार्ने धम्की दिएको हुँदा त्यसमा स्थानीय सरकारले सघाउनुपर्ने उनीहरुको माग थियो।
त्यस्तै नेपाली कांग्रेस तुलसीपुर उपमहानगरका कार्यबहाक सभापति भिमप्रशाद भण्डारीले उत्खनन्ले ध्वस्त सिँचाई कुलो तत्कालै तटबन्ध गरेर किसानको खेतमा पानी लैजान मिल्न व्यवस्था गर्न मेयरको ध्यानाकर्षण गराए। ‘ मैले मनपरी रुपमा भइरहेको उत्खनन्का बारेमा दुई तीन महिना अगाडिदेखि मेयरसापको ध्यानाकर्षण गराउँदै आएको थिएँ, उहाँले हुन्छ रोक्छु भन्नु भयो, तर त्यसका लागि पहल गर्नु भएन,’ भण्डारीले गुनासो गरे।
त्यस्तै ग्वारखोला संरक्षण समितिका अध्यक्ष गिरीराज केसीले ग्वार खोलाबाट हजारौं विगाहा जमिनमा सिंचाई गर्न लगिने १७ वटा कुला मध्ये अधिकांश चरम उत्खनन्ले ध्स्त भइसकेको बताए। बालुवा गिट्टीको चर्कौ दोहनले किसानको खेतमा पानी जान नसकेको भन्दै कुलो बनाउन स्थानीय सरकाले तत्काल अग्रसरता देखाउनुपर्ने उनले बताए ।
किसानले घेरा हाल्दै किन कुलोको मुहान ध्वस्त हुने गरि उत्खनन्को अनुमति दिएको भन्दै र्याखर्याख्ती पारेपछि तुलसीपुर १२ का वडा अध्यक्ष सूर्य प्रसाद डाँगी (श्याम) ले आफ्नो बचाउ गर्दै त्यसको दोष जिल्ला समन्वय समिति दाङ र सिडियोमाथि थोपरे। ‘माथि बाट आए पनि मैले अन्तिमसम्म त्यो रोक्न खोजेको हुँ, तर मेरो मात्रै कुनै जोर चलेन,’ डाँगीले भने,‘चुरे संरक्षण समिति, स्थानीय प्रहरी प्रशासनसमेत त्यसमा जिम्मेवार हुनुपर्छ।’
उपमहानगरपालिका वडा नं. १२ स्थित ग्वारखोलामा स्थानीय जिसस, प्रशासल लगायतले उत्खनन्को अनुमति दिए अनुरूप उत्खनन् भएको हुँदा त्यसमा आफ्नो कुनै मिलेमतो नरहेका मेयर घनश्यान पाण्डे भने। उनले यसका लागि ८ लाख रुपैंया छुट्टयाईसकेको हुँदा कुलाको मुहान तत्काल जस्ताको त्यस्तै बनाइदिने वाचा गरे।
कुलोको निर्माण कार्य सुरु
यसैबीच तुलसीपुरका वडा नं. ११ र १२ का आधा दर्जन गाउँमा सिँचाई पुर्याउँदै आएको उरहरी–जस्पुर सिंचाई कुलोको मुहान निर्माणको काम मंगलबारदेखि सुरु भएको छ।
तुलसीपुर उपमहानगरपालिका जनप्रतिनिधि र सम्वन्धित गाउँबासी बिचमा मंगलबार सहमति भएपछि सिँचाई कुलोको मुहानमा तटबन्ध निर्माण गर्न काम सुरु भएको छ।
तुलसीपर १२ टरिगाँउस्थित ग्वाँर खोलामा उरहरी– जस्पुर कुलोको मुहान निर्माण गर्ने जेसेवी प्रयोग गरिएको छ। खोलाजन्य बस्तुको चरम उत्खनन्ले उक्त कुलोको मुहान ध्वस्त भएपछि पानी कुलोमा जान नसकेको भन्दै सोमबार बिहानैदेखि दिनभर सयौं किसानले कुलो निर्माण गरिदिन माग गर्दै तुलसीपुर उपमहानगरपालिका घेराउ गरेका थिए ।
उरहरी–जस्पुर सिंचाई कुलोको पुरानो मुहान भन्दा झन्डै ५० मिटर उत्तर तर्फ मोहरा बनाउने सहमति भएपछि सिँचाई कुलो निर्माणको काम सुरू भएको हो ।
हेर्नुहोस् भिडियो रिपोर्ट