असार ३२ गतेबाट सकिएको आर्थिक वर्ष २०७४/०७५ को बजेटबाट निकासा लिएर कृषि मन्त्रालय मातहतका दर्जनौं कर्मचारी विदेश भ्रमणमा गएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट मात्र ४५ जनाको टोली भारत भ्रमण गइसकेको छ।
त्यस्तै राष्ट्रिय किसान आयोग, किसानका लागि उन्नत वीउ विजन लगायतका कार्यक्रमबाट १५ जना कर्मचारी बुधबार बिहान भ्रमणका लागि उडेका छन्।
आर्थिक वर्षको अन्त्यतिर भ्रमण स्वीकृत गराएर ठुलो संख्यामा कर्मचारीहरु विदेश भ्रमणमा जान लागेको भन्दै प्रधानमन्त्री कार्यालयले मंगलबार भ्रमण रोक्न भन्दै कृषि मन्त्रालयमा पत्र पठाएपनि आजमात्र २४ जना कर्मचारी विदेश भ्रमणमा गएका छन्।
अघिल्लो आर्थिक वर्षको बजेटबाट पेस्की लिएर उनहिरु जान लागेको र भ्रमणको औचित्य पुष्टि नभएको भन्दै प्रधानमन्त्री कार्यालयले भ्रमण रोक्न पत्र पठाएको थियो।
तर कृषि मन्त्रालयका सचिव युवकध्वज जिसीले अघि नै स्वीकृत भएको भ्रमणबाट कर्मचारीहरु विदेश गएको र अहिलेसम्म आफूले प्रधानमन्त्री कार्यालयको पत्र आफूले नपाएको बताए।
अर्थ मन्त्रालयको सहमति लिएर स्वीकृत गरिएको भ्रमणलाई विवादित बनाउनु आवस्यक नभएको पत्र पाएपछि पनि भ्रमण नहुने उनले प्रष्ट पारे।
कृषिका सचिवले असार २८ गते भ्रमण स्वीकृत गरेका थिए।