खेतीको लामो खडेरी भएपछि देवतालाई खुसी पार्न दाङमा किसानले बलीसहित कुलोको मुहानमा सामूहिक पूजा गरेका छन्। दाङको घोराही र तुलसीपुरका केही किसानले पानी नपरेपछि भगवान रिसाए कि भन्दै खुसी पार्न खोलाको मुहानमा गएर सामूहिक रुद्री लगाउनुका साथै पशु बली दिएर शनिबार पूजा आराधना गरेका हुन्।
घोराही उपमहानगरपालिका वडा नं. ९ अस्पारी गाउँका किसानले स्थानीय हापुर खोलामा गएर भगवानलाई खुसी पार्न रुद्री पूजा गरेका हुन् भने तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का किसानले सात गाउँले कुलोको मुहानमा गएर भेडाको बली दिएर सामूहिक पूजा गरेका छन् ।
साउनको पहिलो हप्ता बित्नै लाग्दा समेत धान खेतीको लागि आवश्यक पानी नपरेपछि यहाँका किसान देवता रिसाएको भन्दै कुलाको मुहानमा गएर देवता खुसी पार्न बलीसहित सामूहिक पूजा गर्न गएको बताएको प्रतिक्रिया दिएका छन् ।
‘पानी नपर्दा तुलसीपुर क्षेत्रको सात गाँउले कुलोबाट सिँचाइ हुने हजारौ बिगाहा जमिन हालसम्म बाँझै पल्टिएको छ । राखेको ब्याड पनि सुक्ने अवस्थामा पुगेको छ । त्यही भएर रिसाएका देवतालाई खुसी पार्न कुलाको मुहानमा पूजा गर्न गएका हौं,’ कुलप्रसाद कालाथोकीले भने ।
तुलसीपुर–३ स्थित श्रीकुलोमा शनिवार भेडाको बली दिएर किसानले सामूहिकरूपमा भूमे देवताको पूजा आराधाना गर्दै खुसी पार्ने प्रयास गरिएको सातगाँउले सिँचाइ कुलो आयोजनाका अध्यक्ष समेत रहेका कालाथोकीले बताए ।
‘देवता रिसाएको हुँदा खडेरी हुँदा खेती लाग्न सकेको छैन । त्यसैले देवता खुसी पार्न कुलाको मुहानमा पूजा गर्न गएका हौं,’ अध्यक्ष कालाथोकीले भने ।
एकसय बढी किसानको सहभागितामा भेडा र चल्लाको वली दिएर पूजा आजा गरेको सात गाउँले सिँचाइ कुलाका कोषाध्यक्ष चिरन्जीवी रिजालले जानकारी दिए।
‘सबै किसानमा पूजा गरेपछि वर्षा हुन्छ भन्ने जनविश्वास छ । त्यही भएर पूजा गरेका हौं र पूजा गरेको एक घण्टामै मुहानमा केही वेर वर्षा भएको छ,’ कोषाध्यक्ष रिजालले भने ।
पूजा गरेर सके लगQ} एकझरी पानी परेपछि किसान खुसी भएको उनले जानकारी दिए । तर, लामो खडेरीले जिल्लाको अधिकांश भागमा अझैं धानखेती हुन सकेको छैन । खेतहरू बाँझै छन् भने सिँचाइ सुविधा नभएको स्थामा किसानले लगाएको व्याड मर्ने अवस्थामा पुगेको छ ।