धौलागिरि गाउँपालिका–६ मराङमा व्यावसायिक रुपमा अलैँचीखेती शुरु भएको छ।
गाउँपालिकाको सहयोगमा मराङको हाङ्बाङमा गठन भएको मालिका कृषक समूहले अलैँचीखेती शुरु गरेको हो। ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत दुई हेक्टर जमीनमा अलैँचीका बिरुवा रोपेको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए।
त्रिचालीसजना कृषकले १४ हजार अलैँचीका बिरुवा रोपेका छन्। गाउँपालिकाले अलैँचीका बिरुवा निःशुल्क उपलब्ध गराएको थियो। पाखोबारी र जंगलभित्रको ओसिलो क्षेत्रमा अलैँचीको बिरुवा रोपिएको हो। रोपेको तीन वर्षमा फल दिन शुरु गर्ने मसला प्रजातिअन्तर्गत पर्ने अलैँची चिस्यानयुक्त ठाउँमा खेती गर्न सकिन्छ।
हावापानी र माटो अनुकूलको खाद्यबाली, तरकारी, फलफूल र जडीबुटी खेतीको विकास गरी रोजगारी र आम्दानीको अवसर सिर्जना गर्ने उद्देश्यले गाउँपालिकाले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम शुरु गरेको हो । पहिलो वर्ष वडा नं २ लुलाङ र वडा नं ६ मराङलाई ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमका लागि छनोट गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख योगेन्द्र राईले बताए।
लुलाङमा आलुखेतीको कार्यक्रम सञ्चालन भएको छ । लुलाङमा बीउ भण्डारण गृह निर्माण गरिएको छ । गत वर्ष जिल्ला कृषि विकास कार्यालयको दुई लाख ७० हजार अनुदानमा उक्त भण्डारण गृह निर्माण गरिएको हो । यसका लागि गाउँपालिकाले तीन लाख अनुदान उपलब्ध गराएको थियो।