कास्कीको अन्नपूर्ण गाउँपालिका क्षेत्र भित्रका सबै वडामा आगामी चार महिनाभित्रमा माटो परीक्षण गर्ने भएको छ ।
निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक कृषि प्रणालीतर्फ उन्मुख गर्ने नीतिअनुरुप प्रत्येक वडा एवं स्थानका कृषि उपजको सम्भाव्यता पहिचानका लागि माटो परीक्षण गर्न लागिएको अन्नपूर्ण गाउँपालिका कार्यालयले जनाएको छ ।
गाउँपालिकाका प्रमुख युवराज कुँवरका अनुसार गाउँपालिकाका सबै वडामा कृषि र पशुपालनको पकेटक्षेत्र तोक्ने नीति गाउँपालिकाले लिइएको छ ।
“यस आर्थिक वर्षको पहिलो चौमासिकभित्र सबै वडामा माटो परीक्षण शिविर सञ्चालन गरी प्राप्त परिणामलाई डाटा बैंक खडा गरेर राखिनेछ,” उनले भने “प्राप्त परिणामका आधारमा माटो अनुसारको खेती गर्ने प्रणालीको विकास गरिने छ ।”
स्थानीय रैथाने जातका बाली तथा बिरुवाको पहिचान गरी तथ्यांक संकलन तथा प्रवद्र्धन गर्ने लक्ष्य लिएको गाउँपालिकाले बाँझोखेतलाई प्रयोग गर्ने नीति अवलम्बन गरिएको छ । यसका लागि भूमी बैंक खडा गरी कम्तीमा २० वर्षका लागि जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्न गाउँपालिकामार्फत प्रस्ताव आह्वान गर्ने तयारी गरेको छ ।
प्राङगारिक खेती कार्यक्रममा अनुदान सहयोग गर्दै युवा कृषि स्वरोजगार कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायमा पहल गर्ने, कृषि सामग्री, उन्नत बीउबिजन खरिद, दूध संकलन, घाँसखेती आदिका लागि व्यावसायिक कृषक एव कृषि समूहलाई प्रोत्साहन गरिने योजनाअघि सारिएको छ ।