तरकारीको बजार मूल्य अनुगमन गर्न जाँदा आज कालिमाटी तरकारी तथा फलफूल बजारमा सरकारी अनुगमन टोली ४ घन्टा थुनिएको छ। कालिमाटी तरकारी बजारका व्यवसायीहरु एकजुट भइ टोलीलाई घेरा हालेका थिए।
व्यवसायीहरुले घेरा हालेपछि टोली ४ घन्टासम्म कालिमाटी तरकारी बजार विकास समितिको हलमा ढोका लगाएर बस्न बाध्य भयो। उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोली ३ बजे नै कालिमाटी बजारमा पुगेको सदस्य माधव तिमल्सिनाले जानकारी दिए।
कालिमाटीमा आउने तरकारीका ट्रकको समेत अनुगमन गर्नेगरी टोली त्यहाँ पुगेको थियो। तरकारी बोकेका २ वटा ट्रकमा कुनै बिलबिजक नभेटिएपछि अनुगमन टोलीले नियन्त्रणमा लिने प्रयास गरेको थियो। लगत्तै व्यापारी तथा बिचौलियाहरुले होहल्ला गरेपछि अनुगमन प्रभावित हुन पुग्यो।
‘धादिङ, मकवानपुर लगायतका जिल्लामा ३०/३५ रुपैयाँमा पाउने तरकारी यहाँ १ सय रुपैयाँभन्दा बढी तिर्नुपरेको गुनासो आएपछि हामी अनुगमनमा निस्किएका थियौँ’ तिमल्सिनाले सेतोपाटीसँग भने ‘अनुगमन थाल्दै गर्दा होहल्ला गरी व्यपारी तथा बिचौलियाले अभद्र व्यवहार गरे।’
व्यापारीको अभद्र व्यवहारपछि टोली समितिको हलमा ढोका लगाएर बसेको उनले जानकारी दिए। प्रहरीको सहयोगमा करिब ४ घण्टापछि मात्रै टोली बाहिर आएको हो।
अनुगमन टोलीप्रति भएको अभद्र व्यवहारपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, मन्त्रालयका सचिव, विभागका महानिर्देशक लगायतको टोली कालिमाटीमा पुगेको थियो।
मन्त्रीसहितको टोली पुगेपछि प्रहरीले कालिमाटी तरकारी व्यवसायी संघका अध्यक्ष भरत ढुंगाना तथा बिमल ढुंगाना लगायत सदस्यलाई पक्राउ गरेको छ।