जिल्लामा व्यवसायीको साना उद्योगतर्फ आकर्षण बढ्दै गएको छ ।
विभिन्न बैंकले व्यापार तथा उद्योगमा सहजै लगानी गर्न थालेपछि साना उद्योगमा नागरिकको आकर्षण बढेको हो ।
जिल्लामा आर्थिक वर्ष २०७४ /७५ मा वाणिज्यतर्फ ९१४ र उद्योगतर्फ एक हजार दुई साना उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत उमबहादुर ओलीले जानकारी दिए ।
जिल्लामा व्यक्तिगत सात हजार ६ सय ६३ र साक्षेदारी ६३ उद्योग दर्ता छन् । एक हजार दुई नयाँ दर्तासहित हालसम्म पाँच हजार ८१० उद्योग दर्ता भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
तुलसीपुर, घोराही, लमही, भालुवाङलगायत बजारमा होटेल तथा रेस्टुरेण्ट खुल्ने क्रम बढेको छ । तुलसीपुरमा दुई दशकदेखि ‘एकान्त होटेल एण्ड लज’ सञ्चालन गर्दै आएकाले टेकराम खड्का लगानीअनुसार मुनाफा आर्जन भइरहेको बताए ।
किराना पसल तथा परम्परागत कृषि प्रणालीबाट जीवन धान्न नसकिने उनको भनाइ छ ।परम्परागत कृषि पेशााबाट जीवनयापन गर्न मुश्किल भएपछि कस्मेटिक व्यापार गर्न थालेको तुलसीपुरका दोर्ण खड्का बताए।
कृषि पेशाभन्दा व्यापार गरेर बढी आम्दानी लिन सकिने उेनको भनाइ छ । तुलसीपुर बजारमा फेन्सी पसल सञ्चालन गरिरहेकी शारदा ओली परिश्रम गरेअनुसार आम्दानी नहुने भएकाले कृषि पेशा छोडी फेन्सी पसल चलाउनु परेको बताउछिन।
तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरबहादुर रावत राजनीतिक स्थिरतासँगै आफ्नो लगानी सुरक्षित हुने देखेपछि व्यापार, व्यवसाय तथा साना उद्योगमा नागरिकको आकर्षण बढेको बताए ।
उनी भन्छिन, “सरकारले आर्थिक समृद्धिलाई जोड दिएको छ, नागरिकमा अब स्वदेशमा नै केही गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ ।” घरेलु तथा साना उद्योग कार्यालयले आव २०७४\७५ मा एक करोड ९३ लाख ९६ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।