गतवर्ष भदाै पहिलाे साता काठमाडौंमा भित्रिएको जुम्लाको अर्गानिक स्याउ यो पटक बुधबारबाट बजारमा उपलब्ध भएको छ। विगत ६ वर्षयता स्थानीय कृषकको सक्रियतामा एप्पल गार्डेनको नामबाट जुम्लाको स्याउ काठमाडौंमा आइरहेको छ।
काठमाडौंमा चिनियाँ र भारतीय स्याउले बजार लिइरहेको समयमा मौसमीरुपमा स्थानीय स्याउन उपलब्ध हुने भएको छ।
विदेशबाट स्याउ आउँदा टिपेको लामो समयपछि आउने भएपनि जुम्लाबाट रुखबाट टिपेर सिधै ल्याइने भएकोले ताजा स्वाद हुने स्थानीय किसान दलबहादुर खड्काले जानकारी दिए।
बाटो र यातायातको कठिनाईका कारण स्याउमा धेरै नाफा नहुने भएपनि आफ्नो उत्पादन बजार सम्म पुर्याउनु र निरन्तरता दिनु ठुलो कुरा भएको कृषक दिनेश खड्का बताउँछन् ।
पछिल्लो समय जुम्लामै प्रतिकेजी ६० देखि ७० रुपैंया सम्ममा स्याउ विक्री हुँदै आएको छ । काठमाडौंसम्म आइपुग्दा ठुलो मात्रामा खर्च उठ्ने भएपनि आफूहरु नाफाका लागि भन्दापनि जुम्ली स्याउको बजार प्रवर्द्धनका लागि स्याउ ल्याउने गरेको खड्काले बताए।
उनले बानेश्वरस्थित अल इन वान मार्टबाट स्याउ विक्री गरिने जानकारी दिए ।