फड्के (ब्राउन होपर) कीराले कञ्चनपुरमा किसानले लगाएको धानबालीमा ब्यापक नोक्सानी पु¥याएको छ ।
पाक्न नपाउँदै धानमा फड्के कीराले आक्रमण गरेपछि यहाँका किसानले नोक्सानी ब्यहोरेका छन् ।
कीराले धानको बोटको रस चुसेर खाने भएकाले धान पाक्न नपाउँदै ढल्ने र दाना र पराल कामै नलाग्ने भएको छ । शुक्लाफाँटा– ४ का किसान धर्मानन्द भट्टले एक बिगाहा खेतमा लगाएको धानबाली पूरै फड्के कीराको प्रकोपका कारण नोक्सान भएको बताए।
विषादी हालेर कीरा नियन्त्रण गर्न खोजे पनि नियन्त्रण नभै झनै पूरै खेतमा फैलिएको छ । उनले भने, “पाक्न नपाउँदै धानका बोट कुहिएर झर्न थालेका छन् ।
साताअघि सानो ठाउँमा धानका बोट कुहिएर खस्न थालेका थिए । अब पूरै खेतमा कीराको समस्या देखिएको छ । मेहनत गरेर लगाएको पूरै धानबाली कीराले सखाप पारेपछि चिन्तित भएको उनले भने।
खेतमा लगाएको धान परिवारका लागि वर्षभरि खानका लागि राखेर बिक्री गर्नसम्म हुन्थ्यो उनले दुःखेसो पोख्दै भने, “पाक्न नपाउँदै धानका बोट कीराका कारण कुहिएपछि खानकै लागि धान किन्नुपर्ने अवस्था आएको छ।”
सोही वडाका किसान अमर भण्डारीको १० कट्टा खेतमा लगाएको धानबाली कीराको प्रकोपका कारण सखाप भएको छ । प्रकोपकै रुपमा कीराले आक्रमण गरेपछि पूरै धानबाली कामै नलाग्ने भएको उनले वताए।
नगरपालिकाको कृषि शाखाका प्रमुख वीरबहादुर कुवँरले शुक्लाफाँटा नगरपालिका क्षेत्रमा मात्रै झण्डै तीन दर्जन बढी किसानको १० बिघा बढी जग्गामा फड्के कीराले धानबालीमा नोक्सानी गरेको बताए।
खेतमा रहेको पानीको निकास गरी इमिडाक्लोरापिड नामक विषादी एक एमएल चार लिटर पानीमा घोलेर खेतमा छर्के कीरा नियन्त्रण गर्न सकिने उनको भनाइ छ । उनका अनुसार २५ प्रतिशत धानबाली नोक्सान भएको छ ।
बाली संरक्षण प्रयोगशाला सुन्दरपुरका नायब प्राविधि सहायक राममिलन चौधरीकाअनुसार कञ्चनपुरका पुर्नवास, बेलडाँडी, लालझाडी, शुक्लाफाँटा, बेदकोट र भीमदत्तनगरमा गरी दुईसय बिघाहा खेतमा लगाइएको एक हजार क्वीन्टल धानबाली फड्के कीराको प्रकोपले खेरगएको छ ।
जसबाट किसानले १५ लाख रुैियाँ देखि २० लाख सम्मको घाटा व्यहोरेका छन् । सर्जु ५२ र सावा लगायतको मसिनो धानमा फड्के कीराले बढी आक्रमण गरेको छ ।