जिल्लाका किसान अदुवाको उचित मूल्य पाएपछि उत्साहित भएका छन् ।
सिकानले यसपालि अदुवाको बेचेर पोहोरभन्दा दोब्बर आम्दानी लिएका छन् ।पोहोर यहाँका किसानले माउ अदुवा सरदर प्रतिकिलो २५ रुपैयाँमा बेचेका थिए ।
यस वर्ष चरणचरण गरेर प्रतिकिलो ४० रुपैयाँ देखि ७५ रुपैयाँ सम्ममा बिक्री गरेका छन् । सरदर प्रतिकिलो ५० रुपैयाँमा माउ अदुवा बिक्री भएको फिदिम–२, अर्खौलेका सरस्वती ढुङ्गानाले बताए। माउ अदुवाबाट तेब्बर आम्दानी गरेको उनले भने। “पोहोर मन (चालिस किलो) ७०० रुपैयाँमा बेचे । यस वर्ष रु दुई हजार ४०० मा आठ मन बेचे,” उनले भने।
चैत– वैशाखमा रोपिने अदुवाको माउ साउन भदौमा निकालेर वेच्ने गरिन्छ । यसपालि जिल्लाबाट दुई हजार ४०० मेट्रिक टन अदुवा निकासी भएको व्यापारी सूर्य मगरले बताए। पूर्वी पहाडी जिल्लामा उत्पादित अदुवाको मुख्य बजार भारत हो ।
विगतमा अदुवा निकासीका क्रममा नाकामा भारतीय पक्षले अवरोध खडा गर्नुका साथै उचित मूल्य नपाउँदा किसानले घाटा खाँदै आएका थिए ।
जिल्लामा ७६० हेक्टर जमीनमा अदुवा खेती हुने गरेको छ । यहाँका ११ हजार बढी घरपरिवार अदुवा खेतीमा संलग्न छन् । बजारको समस्याका कारण किसानले घाटा खानु परिरहेको छ ।