कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले पानी, तेल र मासु अझै उपभोक्ताले ढुक्क भएर खान हुने अवस्था नरहेको बताएका छन्।
‘अहिले नै म पानी, तेल र मासु ढुक्कले खानुस् भन्न सक्ने अवस्थामा छैन, मन्त्री खनालले भने, ‘राज्यले नियमन गर्ने संयन्त्रको विकास नै गर्न सकेको रहेनछ । तर केही समयपछि नै खान मिल्ने बनाइन्छ, अखाद्य बस्तु मिसावट गर्ने सबैलाई जेल हालिन्छ।’
खाद्य पदार्थमा मिसावट गर्ने जो कोहीलाई पनि जेल हाल्ने मन्त्री चक्रपाणीले दाबी गरे। त्यसैलाई मध्येनजर गरेर सरकारले एक वर्षभरी दुध, तेल र पानीमा स्वच्छता अभियान सञ्चालन गरेको उनले बताए।
मुख्य सहरमध्ये झण्डै ५० लाख मान्छेको बसोवास भएको काठमाडौंमा अखाद्य बस्तुको मिसावट सबैभन्दा बढी हुने गरेको सरकारी अनुगमनले देखाएको छ।
‘अनुगमन र कडाई पछि अहिले दुध ढुक्कले खान मिल्ने अवस्थामा पुर्याएका छौँ,’ उनले भने, ‘तेल, पानी र मासुमा भने अझै सुधार आएको छैन।
सरकारले अहिले अनुगमन गर्दा खान नमिल्ने पानी बेच्ने २२ वटा प्रशोधन उद्योगमा तालावन्दी गरेको छ।
सेतोपाटीसँगको कुरामा उनले अहिले कृषि क्षेत्रको अवस्था दयनीय भएको भएको बताए। ‘२ करोड ८० लाखको दुई तिहाई अर्थात झण्डै ६५ प्रतिशत मानिसले गर्दै आएको कृषि क्षेत्रमा विनियोजन गरिएको बजेट, सरकार र नेताहरुको प्राथमिकता आदि कारणले कृषि क्षेत्रको अवस्था दयनीय भएको छ’ उनले भने।
‘कृषि प्राथमिकतामा परेन, यसलाई उल्टाउनु पर्छ, उल्टोबाट सुल्टो बाटोमा ल्याउनु पर्छ, खनालले भने, ‘त्यसका लागि सरकारको सोचाई बदलिनु पर्छ, मन्त्रालयले केही राम्रा कार्यक्रमहरु पनि ल्याएको छ।’ अन्यथा विदेशमा पसिना बढाइरहेका युवा जनशक्तिलाई स्वदेश फर्काउन नसकिने र कृषि झन् ओरालो लाग्ने उनले दाबी गरे।