काठमाडौं महानगरका ४ वटा चौपाया विक्री स्थलमा सुरू भएको चौपाया स्वास्थ्य जाँचका क्रममा अहिलेसम्ममा बिरामी र मरेका चौपाया कलंकीमा मात्र भेटिएका छन्।
काठमाडौं महानगरका पशु सेवा प्राविधिक कर्णबहादुर कठायतकाअनुसार कलंकीमा बुधबार २ वटा बिरामी र एउटा मरेको खसी पाइएको थियो। त्यस्तै, बिहिबार २ वटा मरेका र ३ वटा बिरामी, शुक्रबार मरेका र बिरामी ३/३ वटा, शनिबार मरेका ३ वटा र बिरामी २ वटा तथा आइतबार मरेका र बिरामी २/२ वटा चौपाया पाइएका छन्।
गत बुधबारदेखि हालसम्म कलंकी केन्द्रमा हालसम्म यस केन्द्रमा १६,९९७ चौपाया ल्याइएको छ। भृकुटीमण्डपस्थित खसी बजार टुकुचामा १७४९ चौपाया ल्याइए भने बालाजु खसी बजारमा ३६३ ल्याइएका छन्। यता, विजुली बजारमा १३१७ चौपाया ल्याइएका छन् ।
महानगरका चौपाया विक्री स्थलको अवस्था हेर्दा सबैभन्दा बढी कलंकीमा र त्यसपछि टुकुचामा चाप देखिन्छ। बालाजु र बिजुली बजारमा भने कम मात्र चौपाया आएका छन्।
गएको वर्षभन्दा अहिले चौपाया विक्रीको अवस्था कमजोर भएको व्यापारी बताउँछन्। ‘पोहोर घटस्थापनाका दिन बिदा दिइएकोले दसैँ आएको अनुभूति हुन्थ्यो। किसानहरू पनि बजार आउँथे। यस वर्ष त्यो विदा कटाइएकोले व्यापारमा कमी आयो’, व्यापारीहरू भन्छन्।