राप्तीसोनारी गाउँपालिका–३ भगवतीपुरका महिलाले आर्थिक उपार्जनका लागि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । पहिले पनि घरायसी प्रयोजनका लागि तरकारीखेती गर्दै आएका तिनले दुई वर्षदेखि तरकारीखेती गरेर आर्थिकस्तरलाई उकास्ने प्रयास गरिरहेका छन् ।
विभिन्न सङ्घसंस्थाले कृषि तथा तरकारीखेतीसम्बन्धी योजना सञ्चालन गरेपछि ती जीविकोपार्जनतर्फ उन्मुख भएका हुन् । “पहिले घरमा खानलाई मात्र लगाउँथ्याँै, अहिले व्यावसायिक रुपमा तरकारीखेती गरिरहेका छौँ”, स्थानीयवासी सुकमानी थारुले भने। स्थानीयवासी सुमित्रा चौधरीले आफूले उत्पादन गरेको तरकारी बिक्री नहुँदा समस्या भएको बताए।
“पहिलेको तुलनामा यहाँका महिला तरकारीखेतीतर्फ उन्मुख भएका छन् तर बिक्रीका लागि बजारको समस्या छ ।” उनले भने।
भगवतीपुरका महिलाले अहिले व्यावसायिक रुपमा लौका, करेला, खुर्सानी, भिण्डी, गोलभेँडालगायत तरकारी उत्पादन गर्दै आएका छन् । उनीहरुले महिला समूह निर्माण गरी प्रतिमहीना रु २० का दरले बचतसमेत गर्दै आएका छन् ।
बचत गरिएको रकम तरकारीखेती गर्न चाहने महिलाका लागि सस्तो ब्याजमा ऋण लगानी भएको छ तर ऋण लिनका लागि समूहमा आबद्ध हुनुपर्छ । तरकारीखेती गर्न थालेपछि विगतको तुलनामा महिला आत्मनिर्भर हुँदै आएको स्थानीयवासी मीना चौधरीले बताइन् ।
“मासिक रुपमा बचत गर्दै आएका महिला तरकारी गर्न थालेपछि घरखर्च चलाउने समस्याबाट मुक्तसमेत भएका छन् ” उनले भनिन्।
भगवतीपुरमा उत्पादित तरकारी बिक्रीका लागि अगैया र बिनौनाका स्थानीय बजारमा लैजानुपर्छ । स्थानीय बजारमा रु २० देखि रु ३० प्रतिकिलोका दरले तरकारी बिक्री हुँदै आएको छ । स्थानीयवासी छवि चौधरीका अनुसार एक डेढ घण्टा हिँडेर बजार पु¥याइएको तरकारी बिक्री नहुँदा कहिलेकाहीँ फिर्ता ल्याउनुपर्ने हुन्छ ।