हिउँदे आलु रोप्ने याममा डिएपी मलको अभाव भएको छ ।
मल अभाव भएपछि किसान समस्यामा परेका छन् ।मल बिक्री गर्दै आएको कृषि सामग्री संस्थान इलामस्थित डिपो एक महीनादेखि रित्तो छ । ग्रामीण भेगमा मल बिक्री गर्दै आएका विभिन्न सहकारी संस्थाले डिएपी मलको माग गर्दै आएको कृषि सामग्री संस्थान कार्यालयका प्रमुख गोमा राईले बताए ।
“तिहारपछि मात्रै डिएपी मल उपलब्ध गराउन सक्छौँ” उनले भने।
संस्थानले जिल्लाका ४३ सहकारी संस्थामार्फत मल बिक्री गर्दै आएको छ । एक पटकमा एउटा सहकारीलाई युरिया, डिएपी र पोटास एक, एक बोरा उपलब्ध गराउँदै आएको छ ।
जिल्लामा युरिया प्रतिबोरा एक हजार १४ रुपैयाँ, डिएपी दुई हजार ३६४ रुपैयाँ र पोटास एक हजार ६६४ रुपैयाँमा डिपोबाट बिक्री गरिँदै आएको छ । युरिया ७५ मेट्रिक टन तथा पोटास दुई मेट्रिक टन मौज्दात रहेको संस्थानका कार्यालय प्रमुख राईले बताए।