काठमाडौं उपत्यकामा तरकारीको मूल्य घटेको छ। स्वदेशी उत्पादनका धेरै तरकारी बजारमा आएसँगै मूल्य घटेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
विभिन्न तरकारीको मूल्य दसैँपछि अर्थात १० दिनको अवधिमा ११ देखि ४८ प्रतिशतसम्म घटेको छ। दसैँका बेला ब्यापारीले बढी नाफा खोज्ने र माग अनुसार आपूर्ति नभएका कारण मूल्य बढेको समितिका सूचना अधिकृत बिनय श्रेष्ठले बताए।
यतिबेला भने मौसमी तरकारीको उत्पादन बढेको र दसैँ मनाउन उपत्यका बाहिर गएकाहरु सबै फर्किनसकेका कारणले उपत्यकामा तरकारीको मूल्य घटेको उनले बताए।
‘अब स्वदेशी तरकारीको सिजन सुरु भएको छ, यहींको उत्पादन बजारमा आउन थालेसँगै मूल्य घटेको हो’ उनले भने ‘अर्कोतर्फ आपूर्ति पनि सहज भइरहेको छ।’
उनका अनुसार काउली, साग, बरेला, घिउ सिमी, स्कुस लगायत तरकारीमा अहिले यहींको उत्पादनले बजार लिएको छ। उपत्यकाबाहिर गएका कतिपय तिहारपछि मात्रै फर्किने भएकाले पनि तरकारीको माग यतिबेला सामान्य छ।
समितिका अनुसार कात्तिक १ गते ठूलो गोलभेडा ५५ रुपैयाँ प्रतिकिलो रहेकोमा आज आइतबार किलोको ४५ रुपैयाँ रहेको छ। त्यस्तै सानो गोलभेडा ८५ रुपैयाँ रहेकोमा ४५ रुपैयाँमा झरेको छ। १० दिनको अवधिमा बन्दा ५५ रुपैयाँ प्रतिकेजीबाट ४५ तथा काउली ७५ बाट ४५ रुपैयाँ प्रतिकेजीमा झरेको छ।
घिउ सिमी प्रतिकेजी ४५ रुपैयाँमा कारोबार भएको छ। १० दिनअघि ६५ रुपैयाँप्रतिकेजीमा कारोबार भएको थियो। यस अवधिमा तिते करेला प्रतिकेजी १० रुपैयाँ, हरियो फर्सी तथा रायो साग प्रतिकेजी २० रुपैयाँका दरले घटेको छ।
चमसुर तथा पालुङ्गो साग ८५ रुपैयाँ प्रतिकेजीबाट ७५ रुपैयाँ, हरियो धनियाँ १४५ रुपैयाँबाट ९५ रुपैयाँमा झरेको छ। हरियो लसुन १९० रुपैयाँ, हरियो खुर्सानी ८५ रुपैयाँ, सुकेको खुर्सानी २३५ रुपैयाँ, हरियो प्याज ७५ रुपैयाँ प्रतिकेजीमा कारोबार भैरहेको समितिले जनाएको छ। यी सबै तरकारीको मूल्य दसैँअघिको तुलनामा सस्तो हो।
यस्तो छ कालिमाटीमा आइतबारको तरकारी मूल्यसूची: