पोल्ट्रीको राजधानीको रुपमा स्थापित चितवनका कुखुरा पालक (किसान) लगात अनुसार मुल्य नपाएपछि आन्दोलित भएका छन्। नेपाल कुखुरा पालक किसान संघ केन्द्रीय समिति र जिल्ला समिति चितवनको अगुवाईमा कृषकहरु आन्दोलित भएका हुन्।
कुखुराको चल्ला हुर्काउन आवश्यक गुणस्तरीय दाना, औषधि, ल्याव जस्ता समस्याले लागत बढेको तर लागत अनुसार मूल्य नपाएको उनीहरुको गुनासो छ।
चल्ला र दाना खरिद गर्दा आपूर्तिकर्ताको मनोमानी हुने मासुका लागि तयार भएका कुखुरामा बिचौलियाको प्रभावले किसान मर्कामा परेको उनीहरुको भनाई छ। उनीहरुले विचौलियालाई समेत कारबाही गर्न माग गरेका छन्।
कुखुरा व्यवसाय गर्न धेरै युवाहरु इच्छुक हुँदाहुँदै पनि कुखुराका चल्ला र दानामा मनोमानी, औषधिको अभाव, ल्याव टेष्टमा समस्या, बजारीकरणमा समस्या र दक्ष प्राविधिक नहुँदा कुखुरा व्यवसाय फस्टाउन नसकेको किसानको भनाइ छ।
विरोधस्वरुप जिल्ला सदरमुकाम भरतपुरको चौविसकोठीदेखि र्याली गर्दै निस्केका किसानले बिचौलियाको मनोमानी बढेको भन्दै नाराबाजी गरेका थिए। सो अवसरमा नेपाल कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष झलक पौडेलले चल्ला, दाना र तयारी मासु अनुसार कुखुराको मुल्य निर्धारण नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए।
ह्याचरी उद्योगले दाना र आपूर्तिकर्ताले चल्लाको मूल्यमा मनपरी गरेको तथा बेच्ने बेलामा बिचौलियाले बढी नाफा खोज्दा किसानहरु पलायन हुने अवस्था आएको पौडेलले बताए।
संघका चितवन जिल्ला अध्यक्ष नारायणप्रसाद दवाडीले अनुदानदेखि मासुको कारोबारसम्म किसानको भन्दा बिचौलिया र ठूला व्यवसायीका रजाइ चलेको बताए।
‘यस्तै अवस्था रहे पोल्ट्री सेक्टरको जग नै भत्किन सक्नेछ’ उनले भने। वैज्ञानिक तवरले मूल्य समायोजन नभएसम्म आफुहरुको आन्दोलन जारी राख्ने समितिले जनाएको छ।
आफुहरुले माग पुरा नभएसम्म चितवनमा कुखुराजन्य उत्पादन ठप्प पार्ने र अन्य ठाउँबाट समेत ल्याउन नदिने तथा कुखुरा नपाल्ने समितिले चेतावनी दिएको छ।