लमही नगरपालिका–६ देउपुरका थारू महिला सामूहिक रुपमा लोपोन्मुख हुर्रा जातको सुँगुरपालन गरेर जीविकोपार्जन गर्दै आएका छन् ।
लोपोन्मुख हुर्रा जातको सुँगुरपालन गरेर समूहमा आबद्ध महिलाले शौचालय निर्माण गर्नुका साथै गोबरग्यास जडान गरेका छन् ।
साविकको चैलाही गाविस–४ देउपुर गाउँका २० महिलाले २०६७ सालमा सङ्गठित भई सिसौबगर लोपोन्मुख हुर्रा सुँगुरपालन महिला समूह खोलेर सुँगुरपालनको शुरुआत गरेका हुन् । समुहका अध्यक्ष श्यामकुमारी चौधरी भन्छन्, “हुर्रा जातको सुँगुर आफनो समुदायले पहिलादेखि नै पाल्दै आएका हौँ, पूजामा समेत यो चाहिन्छ, पछिल्ला वर्षमा सो जातको सुँगुर नै हराउन थालेपछि यसलाई बचाउनुपर्छ भन्ने सोचले यसको संरक्षणमा लागेका हौँ।”
“हुर्रा जातको सुँगुरपालन गर्न जिल्ला पशुसेवा कार्यालयले समेत सहयोग गर्दै आएको अध्यक्ष चौधरी बताउँछन्। “मासिक १०० रुपैयाँ सङ्कलन गर्यौँ, पशुसेवाले हुर्राको संरक्षणसम्बन्धी तालीम दिएर सहयोग गरेको हो,” उनले भने। सुँगुरपालनका लागि केन्द्रीय बङ्गुर, कुखुरा प्रवद्र्धन निर्देशनालय काठमाडौंले समूहमा आवद्ध प्रत्येक सदस्यलाई प्रोत्साहन स्वरुप ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । अनुदान रकम र श्रमदानबाट महिलाले ऐलानी जग्गामा सुँगुरपालन गर्न १० कोठे खोर, पानी तथा पोखरी निर्माण गरिएको हो ।
दश सुँगुरबाट शुरुआत गरिएको सो व्यवसाय फस्टाउँदै गएको छ । दशैँमा सुँगुर बेचेर पर्याप्त आम्दानी गरेको अध्यक्ष चौधरीले बताए। घरबाट एक रुपैयाँ लगानी नगरी समूहकै आम्दानीबाट सबैको घरमा शौचालय निर्माण गरिएको छ भने गोबरग्याससमेत जडान गरिएको छ । समूहका कोषाध्यक्ष वसन्ती चौधरीका अनुसार देउपुरको चौधरी गाउँमा शौचालय र गोबरग्यासको व्यवस्था गरिएपछि अहिले अन्य आन्तरिक पर्यटक अवलोकन गर्न आउने गरेका छन् ।
“समूहमा आवद्ध नहुँदासम्म सानो काम गर्न पनि चुरापोते र टिकुली किन्न श्रीमानको मुख ताक्नु पर्दथ्यो । अहिले घरखर्च चलाउन र छोराछोरी पढाउन सजिलो भएको छ,” समूहका सदस्य सीता चौधरीले भने। सुँगुरको स्वास्थ्य परीक्षण र प्राविधिक सहयोग पशुसेवा कार्यालयले गर्दै आएको छ । सुँगुर पाल्नका लागि बनाएको खोर ऐलानी जग्गामा पर्ने भएकाले लमही नगरपालिका– ६ ले सो ठाउँ छोड्न निर्देशन दिएको छ ।
पशु सेवा कार्यालयका पशु अधिकृत निमबहादुर केसी देउपुर गाउँलाई लोपोन्मुख हुर्रा सुँगुरका माध्यमबाट चिनाउन कार्यालयले अनुदान रकम उपलब्ध गराउँदै आएको बताउँछन्। हुर्रा संरक्षण गर्न र महिलालाई आर्थिक रुपमा सक्षम बनाउन यसपटक कार्यालयसँग कुनै कार्यक्रम नभए पनि लमही नगरपालिकासँग समन्वय गरिरहेको उनले बताए।