महोत्तरी सदरमुकाम जलेश्वरमा छठ पर्वका लागि व्यवसायीले भारतबाट ४० लाख रुपैयाँको केरा आयात गरेका छन् ।
आज जलेश्वरमा लाग्ने हाटबजारका लागि सो केरा आयात गरिएको हो ।
अघिल्लो वर्ष छठ पर्वका लागि भारतबाट ३० लाख रुपैयाँ सम्मको केरा आयात गरिएको केरा व्यवसायी गणेश साहले बताए। यहाँका केरा व्यापारीले यस वर्ष सामूहिक रूपमा २५ ट्रक केरा आयात गरेका थिए ।
ट्रकको भाडा उनीहरुले मिलेर तिर्ने गरेका छन् । यसअघि छठ पर्वमा भारतबाट झण्डै १५ ट्रकसम्म केरा आयात गरिँदै आएको थियो । जलेश्वर बजारमा प्रतिघार केरा रु चार सयदेखि आठ सय रुपैयाँ सम्ममा बिक्री भइरहेको छ ।
तालतलैया सिँगारिँदै
छठ पर्वको लागि महोत्तरीका नदी, पोखरी र ताल तलैया दुलहीझैं सिँगारिएका छन् । करीब सात लाख जनसङ्ख्या रहेको जिल्लाका रातु, बाँके, महरा, औंकशी, जङ्घा, कुटमेश्वरी, विग्हीलगायतका नदी, पोखरी तथा तालतलैया दुलहीझैँ सिँगारिएका छन् ।
प्रत्येक नदी, पोखरी र तालतलैयामा छठ घाट निर्माण गरिएको छ । अधिकांश घाटमा ठूल–ठूला पंडाल, कलात्मक गुफा र सूर्य भगवान्को मूर्ति निर्माण गरिएको छ भने सबै घाटलाई झिलीमिली बत्ती र झकीझकाऊका वस्तुले सजाइएको छ । धेरैजसो ठाउँमा नाचगान, नाटक र सांस्कृतिक कार्यक्रमको पनि व्यवस्था गरिएको छ । मङ्गलबार साँझ छठ पर्वका लागि घाटमा अघ्र्य दिन जानुअघि आजै जिल्लाका प्रत्येक घाटलाई सिँगारिएको छ ।