तुलसीपुर उपमहानगरपालिका - २ कुमलगढीका ३९ वर्षीय जंगबहादुर चौधरीले यही वर्ष १७ लाख रूपैयाँ बराबरको एक बिगाहा जग्गा थपे।
यसअघि पनि उनले पटक/पटक गरेर करिब एक विगाहा जति जग्गा जोडिसकेका छन्। जसबाट वार्षिक कम्तिमा ७ लाखदेखि बढीमा १२/१३ लाखसम्म कमाई हुँदै आएको छ।
जंगबहादुरकी छोरी सीमा चौधरी र भतिजा राजेश चौधरी यसक्षेत्रमै कहलिएको ज्ञान ज्योति कलेजमा स्नातकमा अध्यनरत छन्। छोरा जीवन चौधरी बालापुरको जनप्रिय बोर्डिङबाट यसपाली एसईई परीक्षा दिनेछन्।
जंगबहादुरले कुनै दिन गरिवीको चरम अभाव भोगेका छन् । गरिवीकै कारण पढ्ने चाहना हुँदाहुँदै विद्यालयस्तरको शिक्षा पनि पुरा गर्न नपाई बीचमै पढाई छोड्नु परेको पीडा उनमा छ।
त्यसैले आफूले दुःख गरेर भए पनि छोरा छोरीलाई राम्रो शिक्षा दिन लागि परेका हुन्।
गरिवीकै कारण पढ्न नपाएपछि जंगबहादुर गाउँबाट बजारमा गएर घर वाईरिङको काम सिके। झन्डै २ वर्षजति उनी त्यसैमा भुले। तर, कमाइ खासै भएन।
त्यसपछि उनले २०५४ सालदेखि आफ्नै २ कठ्ठा जमिनमा तरकारी खेती सुरू गरे। जतिबेला त्यो गाउँमा आधुनिक र व्यवसायिक रूपमा तरकारी खेती गर्ने कोही थिएनन्।
गाउँमै खोलिएको समूहको माध्यमबाट चौधरीले जिल्ला विकास समिति र स्थानीय विकास ट्रष्ट कोषले प्रदान गरेको एक महिने तरकारी खेती सम्वन्धी तालिम लिने अवसर लगत्तै प्राप्त गरे।
‘त्यो तालिममा सिकेका कुरा मैले व्यवहारमा उतार्दै–उतार्दै यहाँसम्म आइपुगेको हुँ,’ चौधरीले सेतोपाटीसँग खुसी साट्दै भने, ‘मेरो मेहनत र सफलता पछ्याउँदै सारा गाउँले आज तरकारी खेती गरिरहेका छन्।’
चौधरीले भने जस्तै कुमलगढीको चौधरी गाउँमा आज बाह्रै महिना विभिन्न खालका तरकारी फलेको पाइन्छ।
२१ वर्षअघि २ कठ्ठाबाट तरकारी खेती सुरु गरेका जंगबहादुरले आज २२ कठ्ठा क्षेत्रफलमा व्यवसायिक रूपमा तरकारी खेती गर्दै आएका छन्।
उनको सिको गर्दै गाउँका ४० घर परिवारले करिब २२ विगाहा जग्गामा व्यवसायिक तरकारी खेती गर्दै आएका छन्।
कुमलगढी गाउँमा मात्रै तरकारी खेतीबाट कम्तिमा वार्षिक १ करोड ५० लाख बराबरको आम्दानी हुने गरेको जंगबहादुरले सेतोपाटीलाई बताए ।
त्यसबाहेक अन्य ४५ घर परिवारले पनि निर्वाहामुखी तरकारी खेती गर्दै आएका छन्।
जंगबहादुरको सिको गर्दै आज सारा गाउँमा तरकारी खेती हुने गरेको भए पनि त्यहाँ भरपर्दो सिँचाईको प्रवन्ध छैन।
जंगबहादुरले बर्षेपानी भण्डारण गर्न दुई कठ्ठा जग्गामा पानी पोखरी पनि निर्माण गरेका छन्। त्यो पोखरीमा उनले माछा पालन पनि गर्दै आएका छन्।
त्यसबाट बार्षिक कम्तिमा ५० हजार कमाई हुने चौधरीले बताए। गाउँकै सरस्वती कृषि सहकारी संस्थाका अध्यक्षसमेत रहेका चौधरी गत असारमा तुलसीपुर उपमहानगरपालिकाबाट पुरस्कृत र सम्मानित कृषक मध्येका एक हुन्।
उनले प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनाबाट सहुलियतमा खेतवारी जोत्ने पाउर ट्रेलर पनि प्राप्त गरेका छन्।
पछिल्लो समय उपमहानगरपालिकाबाट कृषि प्राविधिक, विउ विजन र उपकरणमा सहयोग प्राप्त हुन थालेको भन्दै उनी खुसी भए।
कुमलगढी गाउँमा खेती गर्ने आधार आसपासका दुई वटा चिरामा बर्षातमा भरिने पानी हो। ती चिराहरुमा निजी खर्चले मोटर जडान गरेर उनीहरुले लिफ्ट सिस्टम मार्फत खेतवारीमा सिँचाई गर्दै आएका छन्। तर, त्यो पानी सुख्खा याममा सुक्छ। त्यसबाहेक यो गाउँमा तरकारी खेती गर्ने हरेकको घरमा २/२ वटा इनार छन्।
सुख्खा याममा तिनै इनारबाट यहाँका किसानले तरकारी खेतीमा सिँचाई गर्दै आएको २८ वर्षीया पार्वती चौधरीले बताइन्। ६ कठ्ठामा विभिन्न जातको तरकारी खेती गर्दै आएकी पार्वतीले एक सिजनमा ७० हजारदेखि एकलाख सम्म आम्दानी हुने गरेको सेतोपाटीलाई बताइन्।
उनले इनार सुक्दा पानी पुर्याउन मुस्किल पर्ने गुनासोसमेत पोखिन्। त्यस्तै उनले एक वर्षभन्दा बढी समय मोटर टिकाउ नहुने हुँदा सालिन्दा मोटर, पाइप र विद्युतको तारहरु किन्नुपर्दा खर्च बढी लाग्ने गरेको जानकारी दिइन्।
गाउँमा मिल चल्दा विद्युतको भोल्टेज लो हुने समस्याले गर्दा मोटरले पानी नतान्दा कहिले काँही रातभर जागराम भएर सिँचाई गर्नुपर्ने अप्ठेरो सुनाईन्। ‘सरकारले हामीलाई सिंचाई र गाउँमा राख्न एउटा ट्रान्समिटरको व्यवस्था गरिदिन हुन्थ्यो,’ चौधरीले भनिन्।
कुमलगढी गाउँमा अन्य किसानले पनि यसैगरी तरकारी खेतीबाट मनग्ये आम्दानी गर्दै आएको जानकारी दिएका छन्।
गाउँले सबैले व्यावसायिक तरकारी खेती गर्न थालेपछि गाउँ सम्वृद्धिको मार्गमा लम्किएको अर्का किसान ३५ वर्षीय जयराम चौधरीले खुसी साटे।
‘पहिला हामी ज्याला मजदुरी गर्न जान्थ्यौं। तर, तरकारी खेती गर्न थालेपछि कसैको काम गर्न जानुपरेको छैन,’ चौधरीले भने ।
उनले आफ्नो जग्गामा वर्षमा चार पटक तरकारी खेती गर्ने गरेको हुँदा खेतवारी कहिलै बाँझो नरहने बताए। १५ कठ्ठामा तरकारी खेती गरेका चौधरीको खेतमा अहिले खुर्सानी, टमाटर र काउली लटरम्म फलेका छन्।
९५ घर धुरी रहेको कुमलगढी गाउँमा ४५ जनाले निर्वाहमुखी तरकारी खेती गर्ने गरेको भए पनि त्यो विस्तारै व्यवसाय उन्मुख बन्दा गाउँवाट विदेश जाने क्रम पूर्ण रूपमा रोकिएको उनले बताए। ‘विदेश गएका युवासमेत बीचमै फर्केर आएर तरकारी खेती गरिरहेका छन्,’ चौधरीले भने।
गाउँ नजिक तरकारी बजारको उचित व्यवस्थापन नहुनु, चिस्यान केन्द्र नहुनुजस्ता कारणहरुले किसान समस्यामा परेको उनले बताए। ‘हाम्रो प्रमुख बजार तुलसीपुरनै हो र त्यो ८ किलोमिटर टाढा पर्छ। त्यहाँसम्म तरकारी बोकेर जान अप्ठेरो छ,’ उनले भने,‘खेतमै किन्न आउने बीचौलियाले सस्तोमा लैजान खोज्ने र उत्पादित तरकारी बजारसम्म पुर्याउन आफ्नै साधन नुहँदा समस्या भएको छ।’
‘तरकारी बोकेको देखेपछि सार्वजनिक गाडिले रोक्दैनन्, साना गाडी ल्याउँदा गाउँको तरकारी लैजान मुस्किल पर्छ,’ चौधरीले भने ।
कहिलेकाँही सबै किसान मिलेर तरकारी बिक्री गर्न गाडी भाडामा ल्याउने गरे पनि त्यो प्रयाप्त नभएको उनले वताए। ‘हाम्रो पसिनामा विचौलियाको जगजगी छ त्यो रोक्न स्थानीय सरकारले ध्यान दिनुपर्छ,’ चौधरीले भने ।
तुलसीपुर उपमहानगरपालिका कृषि शाखा प्रमुख तिलक केसीले समस्या समाधान गरेर व्यावसायिक तरकारी खेतितर्फ अग्रसर गराउन किसानलाई उर्जा थप्न राज्यले सक्नुपर्ने बताए।
खेतमै कृषि प्राविधिक, विउ विजन उपलब्ध गराउन राज्य तत्पर हुनुपर्ने बताए । उनले कुमलगढी जस्तै जंगबहादुरहरु हरेक गाउँमा जन्मन आवश्यक रहेको बताए ।
उपमहानगरपालिकाका आर्थिक समिति संयोजक माधव वलीले किसानहरुलाई कृषि उपज विक्री वितरणमा सहज होस् भन्नका लागि उपमहानगरपालिकाले कृषि उपज वजार केन्द्र निर्माण गर्ने आश्वासन दिए।
उनले किसानहरुको सम्मानका लागि कृषि परिचय पत्र वितरण गर्न लागेको जानकारी दिए ।
त्यस्तै उक्त क्षेत्रवाट निर्वाचित तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २ का वडाध्यक्ष राजु आचार्यले सिंFचाईको समस्या समाधान गर्न डिपवोरिङ निर्माणका लागि वडाले पहल गर्ने जानकारी दिए।
उनले चिस्यान केन्द्रको निर्माण अपरिहार्य रहेको हुँदा मेयरसँग प्रस्ताव गरेको जानकारी दिए।