नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित थपुवाका लक्ष्मीप्रसाद शर्मा सामाजिक कार्यकर्ताका रुपमा चिनिन्छन्।
चौध वर्षअघि सामाजिक सेवामा संलग्न शर्मा हाल बाँकेकै एक गैरसरकारी संस्थामा वरिष्ठ कार्यक्रम सुपरभाइजरका रुपमा कार्यरत हुनुहुन्छ । गाउँदेखि शहरसम्म उनी सामाजिक कार्यकर्ता कै रूपमा चिनिन्छन्।
स्नातक तह उत्तीर्ण शर्माले सामाजिक अभियानका क्रममा विशेषगरी शैक्षिक विकासका क्षेत्रमा आफ्नो समय खर्चिदै आएका छन्। चौध वर्षदेखि शैक्षिक विकासका लागि हुँदै आएका विभिन्न गोष्ठी, छलफल, कार्यशाला गोष्ठी र र्यालीमा उनको उपस्थिति नियमित थियो ।
जसरी भए पनि ती कार्यक्रममा सहभागी हुनुपर्ने र शैक्षिक विकासका लागि आफ्ना विचार व्यक्त गर्नुपर्छ भन्ने शर्मा आफैलाई पनि लाग्ने गर्दथ्यो ।
उनलाई जसले पनि सामाजिक कार्यकर्ताकै रुपमा चिन्छन । धेरैलाई थाहा छैन, शर्माको अर्को पेशा । उनी सामाजिक कार्यकर्तासँगै विगत आठ वर्षदेखि पशुपालन र तरकारी एकसाथ गर्दै आएका छन्।
शर्मालाई बुझ्नेले सामाजिक कार्यकर्ता भने पनि उनी सफल कृषक पनि हुन। कुरा कमैलाई मात्र थाहा छ। दिउँसो गैरसरकारी संस्थाको जागिरे भए पनि साँझ बिहान कृषकको भूमिकामा देखिन्छन् शर्मा ।
“जागिरले चिनाउँछ, चिनाएको पनि छ । कृषि पेशाले उचाइँमा पुर्याउँछ”, उनले भने, “जागिरले सामाजिक प्रतिष्ठा र सबैसँग चिनजान गराएको छ, कृषि पेशाले मेरो पारिवारिक जिम्मेवारी र आम्दानीसमेत बढाएको छ ।” उनलाई उनकी श्रीमती गीताले सघाउँदै आएकी छन् । श्रीमान् जागिरमा जाँदा कृषि जिम्मेवारी गीताले सम्हाल्दै आएकी छन् । “श्रीमान्ले अँगालेका दुवै पेशाप्रति म खुशी छु”, गीताले भने।
शर्माको गोठमा चार उन्नत जातका गाई र एउटा भैँसी छन् । चार गाईमध्ये अहिले दुई दुहुना छन्, अर्को दुई गाई व्याउने भएका छन् । दुई गाई र एउटा भैँसीको दूधले अहिले आम्दानी दिइरहेको छ ।
उनका अनुसार अहिले करीब ३० लिटर दूध बिक्री हुन्छ । जसबाट मासिक करीब ४५ हजार रुपैयाँ आम्दानी भइरहेको छ । “बाँकी दुई गाई ब्याए भने मेरो आम्दानी दोब्बरले बढ्छ”, कृषि पेशामा रमाएका शर्माले भने।
फुर्सदमा पशुपालन र तरकारी खेती गरेर राम्रै आम्दानी गरिरहेकामा उनले सन्तुष्टि व्यक्त गर्दै रासससँगको कुराकानीमा भने, “गैरसरकारी संस्थाको जागिर त कार्यक्रम हुँदासम्म हो, कार्यक्रम सकिएपछिको जागिर यही कृषि पेशा त हो नि यस रुपैयाँलाई बेवास्ता गर्ने कुरै भएन ।” आफ्नो एक्लो प्रयासमा मात्रै नभएर श्रीमती गीताको सहयोगले सामाजिक र पारिवारिकरुपमा आफूलाई सफलता मिलेको उनको भनाइ थियो । भने
पशुपालनसँगै तरकारी खेतीलाई पनि सँगसँगै अघि बढाउनुभएका उहाँले पाँच कट्ठामा काउली, बन्दा, मुला, आलु, टमाटरलगायत तरकारी लगाउनुभएको छ । “तरकारीले पनि राम्रै आम्दानी दिइरहेको छ”, शर्माले भने, “मौसममा दुई लाख रुपैयाँ सम्म आम्दानी हुन्छ ।” पशुपालन र तरकारी खेतीले उहाँको जीवनस्तरलाई व्यवस्थित र आर्थिकरुपमा दरिलो बनाएको छ ।
दूध र तरकारी बिक्रीका लागि पनि उहाँलाई कुनै समस्या छैन । स्थानीय बिमानस्थल र राझा बजारमै तरकारी खपत हुन्छ । उत्पादित तरकारीले कहिलेकाहीँ मूल्य नपाए पनि त्यो खासै समस्याका रुपमा नरहेको उनको भनाइ थियो ।
“कहिलेकाहीँ मूल्य तल झर्दा बिक्रीमा समस्या हुने भए पनि घाटा नै भइहाल्ने भन्ने हुँदैन । अरुबेला बढेको मूल्यले त्यसलाई समायोजन गरिहाल्छ”, शर्माले भने।
लामो समयदेखि पशुपालन र तरकारी खेती गर्दै आए पनि हालसम्म कसैको सहयोग नलिएको उनले बताए। सम्बन्धित सरकारी तथा गैरसरकारी निकायसँग सहयोगका लागि आग्रह गरे पनि सहयोग नपाएको उनको गुनासो थियो ।
“धेरै ठाउँमा आग्रह गरियो, पहुँच नहुँदा सहयोग नपाइने रहेछ । मैले पहुँच बढाउन सकिन, त्यसैले होला अहिलेसम्म कहीँकतैबाट सहयोग पाइएको पनि छैन”, शर्माले भने ।
उनले भने, “विदेशमा गएर लाखौँ रकम कमाउने सपना देखिरहन्छौँ ।” लाखौँ रकम कमाउन विदेशमै जानैपर्छ भन्ने छैन । विदेशमा खर्चिनुपर्ने श्रम र समय पनि यहाँ खर्चिनुपर्दैन ज्ञान र शीप भयो भने स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ । स्वदेशमै केही ग¥यौँभने कमाउन सकिन्छ भन्ने भावना नभएकै कारण नेपाली युवा विदेशिनुपरेको हो ।”