जिल्लामा एक सय १२ हेक्टर जमीनमा जडीबुटी खेती गरिएको छ ।
किसानले ९३ हेक्टरमा मेन्था र १२ हेक्टरमा केमोमाइल खेती गरेका छन् । गत आर्थिक वर्षदेखि यहाँ कुरिलो खेतीको शुरुआत गरिएको छ ।
राप्तीसोनारी गाउँपालिकाको तीन सामुदायिक वनमा कुरिलो खेती शुरु गरिएको नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष मोहम्मद याकुव अन्सारीले बताए। राप्ती सोनारीको जलजला, बसेरी र छग्रह्वा सामुदायिक बनमा कुरिलो खेती गर्न थालिएको हो । यसबाट आम्दानी लिन कम्तीमा तीन वर्ष लाग्नेछ । गत आवमा जिल्लामा सात हजार लिटर मेन्था तेल र ७१ लिटर केमोमाइल तेल उत्पादन भएको थियो ।
कृषि क्षेत्रको विकासका लागि अनुदान र सस्तो ब्याजदरमा ऋण प्रदान गरेजस्तै जडीबुटी खेतीको प्रवद्र्धन गर्न सरकारले विशेष नीति ल्याउनुपर्ने जडीबुटी व्यवसायीको माग छ ।
सरकारी नीति फितलो हुँदा जडीबुटी खेती फस्टाउन नसकेको अध्यक्ष अन्सारीले बताए। “जडीबुटी खेती गर्ने किसानलाई सरकारले प्राथमिकताको सूचीमा राख्नुपर्यो”, उनले भने। जडीबुटी व्यवसाय प्रवद्र्धन गर्न राज्यको लगानी शून्य रहेको उनको आरोप छ ।
किसानको व्यक्तिगत लगानीमा मात्र बजारीकरण सम्भव नभएको अन्सारीले बताए। “बजारीकरण र भण्डारणका लागि राज्यको तर्फबाट पहल हुनु पर्छ,” उनले भने।
जिल्लामा कुरिलो र केमोमाइलको खेतीबारे जिल्ला वन कार्यालयसँग तथ्याङ्क छैन । सहायक वन अधिकृत टेक नेपाली निजी जमीनमा केमोमाइल खेती भइरहेको बताउँछन्। केमोमाइल र कुरिलो निकासी गर्दा र बिक्री वितरण गर्दा वन कार्यालयसँग अनुमति लिनुपर्ने प्रावधान छ ।