दाङमा एक युवाले व्यवसायिक टर्की पालन सुरु गरेका छन्।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ का २७ बर्षीय लेखनाथ बुढाथोकीले हाल ६ सय हाराहारी ‘टर्की’ पालेका छन्।
टर्की हेरचाहका लागि श्रीमतिसँगै दुई जना सहयोगी पनि छन्। घोराही ७ बेसाहीमा एक विघा जमिन भाडामा लिएर ४५ लाखको लगानीमा उनले टर्की र लोकल कुखुरा पाल्न थालेका हुन्।
नयाँ व्यवसाय गर्ने उद्देश्यका साथ ‘कालिकादेबी पोल्ट्री फर्म’को नाममा उद्योग दर्ता गरेर जिल्लामै पहिलो पटक टर्कीको व्यवसायिक पालन सुरु गरेको बुढाथोकीको दावी छ।
उनको परिवार नै कृषिमा संलग्न छ। बाजेले भैँसी पालन, बुवाले कुखुरा पालन, आमाले बाख्रा पालन गर्दै आएको बुढाथोकीले बताए। विदेश जाने पैसाले स्वदेशमै केही नयाँ व्यवसाय गरेमा अर्थतन्त्रकै लागि फाइदा पुग्ने उनको भनाइ छ।
व्यवसाय गर्नु पूर्व बुढाथोकीले तीन बर्ष अघि ८ वटा टर्कीको बच्चा किनेर हुर्काएका थिए। तुल्सीपुरमा मेला हेर्न गएका बुढाथोकीले टर्की भन्ने नयाँ जातको पंक्षी देखेपछि ५ सयको दरले ८ वटा टर्कीका बच्चा घर ल्याए।
बुढाथोकीले भने ‘तिनले के के खान्छन्, कस्तो वातावरणमा बस्न रुचाउँछन्, त्यो मैले सबै बुझेँ। अण्डा पनि पार्यो, बच्चापनि निकाल्यो र लोकल कुखुरा जस्तै गरी पाल्न सकिने निष्कर्षमा पुगेँ।’
कुखुरा भन्दा ठूलो, महँगोमा विक्री हुने र कुखुरा जस्तै पाल्न सकिने भएपछि टर्कीबाट फाइदा देखेको उनी बताउँछन्। टर्कीको बारेमा ९ महिना त अध्ययन गर्न नै लागेको उनले बताए।
टर्कीलाई कुखुरा जस्तो रोग नलाग्ने र बजारमा राम्रो मूल्य पनि पाइने भएकाले किसानलाई पनि यसको व्यवसाय थाल्न उनी सुझाव दिन्छन्।
टर्की कसरी पाल्न सकिन्छ ?
सामान्यतः लोकल कुखुरा जस्तै टर्की पाल्न सकिने उनको अनुभव छ। टर्कीलाई करिब ७० प्रतिशत घाँस चाहिने हुँदा बोइलरमा जस्तो दानापानीमा धेरै भार नपर्ने उनले सुनाए।
‘टर्कीको सबै भन्दा मनपर्ने खाना दुबो हो’ बुढाथोकीले भने, ‘त्यो बाहेक मैले चाहिने बर्थिम, मेथी, मकैचरी, विकसित नयाँ जातका घाँस पनि लगाएको छु।’
टर्की सामान्यतया ६ महिनामै बयस्क हुन्छ। त्यतिबेलादेखि नै अण्डा दिन थाल्छ। बीचमा ओथारो बस्न नदिने हो भने एक लटमा ९० वटा सम्म अण्डा दिने गरेको बुढाथोकीले बताए।
औषत आयू दुई देखि चार बर्षसम्म रहने टर्की ६ महिनाको अन्तरमा ८ किलो सम्मको हुने गर्दछ। तर २ बर्ष जति पाल्दा एउटा टर्की १४ देखि १७ किलोसम्मको हुने बुढाथोकीको भनाइ छ।
‘बजारमा टर्कीको अत्यधिक माग छ,’ बुढाथोकीले भने ‘टर्की खोज्न आउने कतिपयलाई छैन भन्दै फर्काउनुपर्ने बाध्यता छ।’ टर्कीको माग सबैभन्दा बढी क्रिसमसमा हुन्छ । उनले आफ्नो फर्ममा हाल ६ सय टर्की र १७ सय वटा लोकल कुखरा हुर्किरहेको जानकारी दिए ।