रुपन्देहीमा स्थानीय हाटबजारमा आउने तरकारी तथा फलफूलको समेत विषादी अवशेषको परीक्षण हुनथालेको छ । केही महीनादेखि बुटवल र भैरहवाको हाटबजारमा आउने तरकारीको विषादीको अवशेष परीक्षण भइरहेको विषादी अवशेष द्रूत एकाइ विश्लेषणका प्रमुख तथा बाली विकास अधिकृत रामबहादुर खत्रीले जानकारी दिए ।
उहाँले तरकारी उत्पादन क्षेत्रबाट समेत नमूना परीक्षण गर्न लागेको उल्लेख गर्दै जनशक्तिको व्यवस्थापन नहुँदा केही कठिनाइ आएको बताए। “बेमौसमी र हिउँदे उत्पादनमा सबैभन्दा बढी विषादीको प्रयोग देखिएको र परीक्षण भएका नमूनामा ३४ प्रतिशतमा केही न केही विषादीको अवशेष देखिएको छ”, बाली विकास अधिकृत खत्रीले भने ।
उनले एक वर्षको अवधिमा परीक्षण भएका नमूना परीक्षणमध्ये लौका, भान्टा र भेँडेखुर्सानी प्रयोग गर्न अयोग्य देखिएको जानकारी दिँदै फलफूलमा केरा र आँपमा पकाउनका लागि प्रतिबन्धित रसायन प्रयोग गरेको पाइएकाले नष्ट गरिएको बताए। खासगरी बालीनालीमा प्रयोग हुने कीटनाशक औषधिको पर्खनुपर्ने समयलाई ध्यान नदिँदा किसान मारमा परेका छन् ।
बुटवलमा भारत, चितवन, धादिङ, हेटाँैडा, पाल्पा, सल्यानबाट तरकारी बुटवल भित्रिने गर्छ भने फलफूल भारत र चीनबाट आउने गर्छ । बुटवल कृषि थोक सञ्चालक समितिका अध्यक्ष कलाधर पन्थीले विषादी अवशेषको परीक्षण हुन थालेपछि कृषक सचेत भएको उल्लेख गर्दै विषादी प्रयोगको मात्रा बढी भेटिएमा नष्ट गर्ने काम भएको बताए। बुटवलमा दैनिक दुई करोड रुपैयाँ बराबरको ४०० देखि ४५० टन तरकारी तथा फलफूल भित्रिने गर्छ ।
‘फोटो स्पोक्टोमिटर’ नामक प्रविधिको प्रयोग गरेर तरकारी तथा फलफूलमा विषादीको अवशेष परीक्षण गरिन्छ । एउटा उत्पादनको नमूना परीक्षण गर्न ४०० देखि ५०० रुपैयाँ खर्च हुने बताइएको छ । सरकारले एउटा प्रदेशका लागि एउटा शहरमा विषादीको अवशेष परीक्षण गर्ने प्रयोगशाला स्थापनाको लक्ष्य लिएपछि प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा यो परीक्षण विसं २०७४ भदौमा स्थापना भएको हो ।