बीउ छर्ने र मल हाल्ने प्रविधि भित्रिएसँगै बाँकेका किसान मकैखेतीतर्फ आकर्षित भएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मकै जोनले नयाँ उपकरण उपलब्ध गराएपछि यहाँका किसानले गत वर्षदेखि ती उपकरणको प्रयोग गरी मकै छर्न थालेका हुन् । यसरी बीउ छर्दा छिटो हुने भएकाले समयको बचत हुने मकै जोनका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत देवेशकुमार मिश्रले बताए।
डुडुवा गाउँपालिका– ६ हिरमिनियाका जयपाल मौर्यले मकै छर्ने र रासायनिक मल हाल्ने काम मेसिनले एकसाथ गरेकाले समय र लागतको बचत भएको बताए। कामदार पाउन समस्या भएको बेला नयाँ प्रविधिकशा कारण खेती गर्न सहज भएको मौर्य बताउँछन्। उनले गत वर्ष १२ हेक्टर जमीनमा मेसिनद्वारा मकै छरेको र यसवर्ष ‘सिड ड्रिल मेसिन’मार्फत ४० हेक्टरमा मकै छर्ने योजना बनाएका छन्।
“मकै जोन लागू भएपछि मकैखेतीको क्षेत्रफल र मकैखेती गर्नेको सङ्ख्या बढेको छ,” मिश्रले बताए। जिल्लामा ३५ कृृषक समूह र सहकारीमा आवद्ध एक हजार पाँच सयभन्दा बढी कृषकले मकैखेती गर्दै आएका छन् । जिल्लामा धान रोप्ने, गहुँ छर्ने र काट्ने मेसिनको प्रयोग गर्ने कृषकको सङ्ख्या बढ्दै गएको छ ।