बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रको रूपमा चिनिँदै आएको छ ।
माछा उत्पादनसँगै गाउँपालिकामा आलुको बीउ उत्पादन र व्यावसायिकरूपमा तरकारी खेती पनि हुँदै आएको छ । गाउँपालिकाका करीब ८५ प्रतिशत स्थानीय कृषि पेशामा आबद्ध छन् । यस वर्ष गाउँपालिकाले कृषि क्षेत्रका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि माछा उत्पादनका साथै अन्य बाली उत्पादन बढ्ने विश्वास गरिएको छ ।
गाउँपालिकाको मैनापोखर, भोलागौढी र सितलाबजार बजार क्षेत्र हो भने अन्य सबै क्षेत्रका स्थानीय कृषि पेशामा आबद्ध छन्। करिब पचासी प्रतिशत स्थानीय कृषिमा आश्रित गाउँपालिकाको आठ हजार हेक्टरमा खेती हुँदै आएको छ। वडाका स्थानीय कृषिमा आश्रित भएकाले कृषि उत्पादनलाई जोड दिइरहेको बताउँछान् वडा नं ४ का अध्यक्ष कर्णबहादुर थापा।
वडा नं ४ का अध्यक्ष कर्णबहादुर थापाले गाउँपालिकामा करीब ४० किसान माछापालनमा संलग्न रहेको र करीब २०० किसानले तरकारी र आलुखेती गर्दै आएका जानकारी दिए। कृषिका लागि पर्याप्त बजेट विनियोजन नभए पनि कृषिलाई टेवा पुग्ने कार्यक्रम गाउँपालिकाबाट भइरहेको छ ।
गाउँपालिकामा स्थानीयस्तरमा उत्पादन भएको तरकारी सितला, पशुपति, सीतापुरको हाटबजार र मैनापोखरबाट बिक्री वितरण हुँदै आएको छ । मैनापोखर र कालिकाबाट वर्षेनी ४०० टन आलुको बीउ र एक हजार ४०० टन आलु उत्पादन हुँदै आएको छ ।
गाउँपालिकाकामा परम्परागत तरीकाबाट किसानले खेती गर्दै आएका छन्। केही किसान व्यावसायिक खेतीमा पनि संलग्न भएका छन् । यहाँका किसानले तरकारीका साथै धान, गहुँ, मकै, मसुरो, केराउ, अरहरलगायतका अन्नबाली पनि उत्पादन गर्दै आएका छन् ।
गाउँपालिकाले यो वर्ष कृषिका लागि ६० लाख निःशर्त बजेट र १८ लाख रुपैयाँ सःशर्त बजेट विनियोजन गरेको वडा अध्यक्ष थापाले बताए। जिल्ला विकास कार्यालको कृषि शाखाबाट प्रवाह भइरहेको सेवामा स्थानीयलाई पहुँच दिन वडाका जनप्रतिनिधिले नै बढी भूमिका खेल्नुपर्ने स्थानीयको माग छ ।
विगतमा जिल्ला कृषि विकास कार्यालयबाट प्रवाह हुँदै आएको कृषि सेवा अहिले स्थानीय तहबाट प्रवाह भइरहेको छ । गाउँपालिकाले पनि कृषि शाखामार्पmत सेवा प्रवाह गरिरहेको छ तर सबै स्थानीयले प्रवाह भइरहेको त्यस्तो सेवाको उपभोग गर्न पाएका छैनन् । “हामीले कृषि शाखाबाट प्रवाह हुँदै आएको सेवा समयभित्र पाउन सकेका छैनौँ, यसलाई प्रभावकारी र सहज बनाउनुपर्छ”, गाउँपालिका–३ का स्थानीय कृषक रामकुमार थारुले भने।
बजेट अभावले चाहेर पनि गाउँपालिकाले पर्याप्तरूपमा कृषि सेवा दिन सकेको छैन । गाउँपालिकामा आएको बजेटको निश्चित रकम विषयगत सेवाअन्तर्गत कृषिमा छुट्याएर किसानका लागि खर्च हुने गरेको छ । “सरकारले कृषिमा आधुनिकीकरण गर्ने भने पनि कृषिका लागि छुट्याउने गरेको बजेटको आकार बढाउनुपर्छ”, गाउँपालिका कृषि शाखा प्रमुख दुर्गाप्रसाद बसौलाले भने।