पछिल्लो समय खेतिमा नयाँ प्रविधिको प्रयोग बढ्दै गएको छ। दाङका किसानले धान काट्ने, ओसाउने तथा आफ्नो खेत बारी जोत्ने जस्ता काममा उपकरणको प्रयोग गर्दै आएकोमा अब आलु र लसुन पनि उपकरणबाटै रोप्न पाउने भएका छन्।
नेशनल भिजन मल्टी पर्पाेज एग्रो एण्ड बायो फार्मले उपकरणबाटै दाङमा पहिलो पटक आलु र लसुन रोप्ने कार्यको थालनी गरेको हो।
कम्पनीले तुलसीपुर उपमहानगरपालिका–१४ लुहाडवरामा प्रविधिको प्रयोग गरी झन्डै ११ विघा जग्गामा आलु र लसुन रोपेको अध्यक्ष अनन्तबहादुर खड्कालले जानकारी दिए। आलु र लसुन रोप्नेदेखि गोडमेल गर्न र खन्नको लागि समेत प्रविधिको प्रयोग गरिने अध्यक्ष खड्काले बताए।
मेसिनबाटै आलु र लसुन रोपेको नौलो दृष्य देखेपछि स्थानीय किसान उत्साहित भएका छन्। स्थानीय ३५ बर्षीय विष्णु चौधरीले मेसिनले आलु र लसुन लगाएको देख्दा दङ्ग परेको बताए। ‘एकैछिनमा मेसिनले आलु रोप्दो रहेछ’ चौधरीले भने ‘त्यही काम मान्छेले गरेको भए धेरै दिन लाग्थ्यो।’
तुलसीपुरको लुहाडवरास्थित गाउँमा ‘पोटेटो प्लान्टर’ यन्त्रको प्रयोग गरी करिब १० बिघा जमिनमा आलु र ‘गार्लिक प्लान्टर’ मेसिनको प्रयोगबाट १ बिघा जमिनमा लसुन रोपिएको अध्यक्ष खड्काले बताए।
ट्याक्टरको सहायताले बारी जोतेपछि प्रविधिको सहयोगले आलु र लसुन रोपिएको हो। मेसिनबाट प्रति घण्टा करिब डेढ बिघा जमिनमा लसुन रोप्न सकिने खड्काले बताए।
आलु रोप्न बाहेक गोड्न र खन्न(हार्भेष्ट) गर्न ‘पोटेटो डिगर’को प्रयोग गरिन्छ। रोप्न, गोडमेल गर्न र खन्न समेत मेसिन प्रयोग गर्दा काम धेरै छिटो हुने मात्र नभइ उत्पादनको गुणस्तर पनि बढ्ने उनको दाबी छ।
‘मानिसले आलु र लसुन खन्दा काटिने तथा विग्रिने संभावना बढी हुन्छ, त्यो जोखिम मेसिनको प्रयोग गर्दा कम हुन्छ,’ खड्काले भने। जिल्लामा प्रविधिको प्रयोग गरी आलु र लसुनको व्यवसायिक खेती गरेर कृषि कामलाई सम्मानित अनि थप व्यवसायिक बनाउने आफ्नो उद्देश्य रहेको खड्काले सेतोपाटीलाई बताए।
‘कृषिमा फड्को मार्न आधुनिक उपकरण र औजार आवश्यक छ,’– खड्काले भने ‘परम्परागत तरिकाले खेति गर्दा गुजारामुखी मात्रै हुन्छ, किसानले सोचेजति आम्दानी गर्न सक्दैनन्।’ देशलाई कृषि क्षेत्रमा माथि उठाउन प्रविधिको भरपुर प्रयोग आवश्यक रहेको उनले बताए।
दाङमा ५० हेक्टर जति जमिनमा आलु र लसुनको खेति गर्ने लक्ष्य रहेको कम्पनीका पदाधिकारीहरुले जानकारी दिएका छन्। त्यही लक्ष्य अनुसार पहिलो लटमा तुलसीपुरको लुहारडवरामा १० बिघा जग्गामा कार्डिनल तथा टिपीएस जातको आलु र १ बिघा जग्गामा लसुन रोपिएको खड्काले जानकारी दिए।
‘कृषिको काम हालसम्म पशु चौपाया र मानिसको मसलको भरमा हुँदै आएको छ’ उनले भने ‘त्यसमा बढी मेहनत पर्छ भने उत्पादन सोचे जति हुँदैन।’ प्रविधिको प्रयोगले वर्षमा तीन वटै सिजन खेती गर्न सकिने हुँदा किसान लाभान्वित हुने उनले बताए।
प्राविधिको प्रयोगले कृषि कर्म सजिलो तथा सम्मानित बन्दै जाने र त्यसमा युवाको आकर्षण बढ्दै जाने कृषि ज्ञान केन्द्र दाङका प्रमुख कृष्णबहादुर बस्नेतले बताए।
जिल्लाको कृषि विकासमा प्रविधिको प्रयोगले महत्वपुर्ण भूमिका खेल्ने आशा व्यक्त गर्दै प्रमुख बस्नेतले बिउ उत्पादन र छनौट गर्दा पनि उत्तिकै ध्यान दिनुपर्ने बताए।