मौरी चरन क्षेत्रका स्थानीय तहले पत्र काटेर मौरी चराउन नल्याउन भनेपछि यहाँका किसान समस्यामा परेका छन् । चरनको खोजीमा यहाँका किसानले विभिन्न जिल्लामा मौरी लैजाने गर्दछन् ।
नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्मा पौडेलका अनुसार दाङको घोराही नगरपालिका र अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले चरनका लागि मौरीका घार नल्याउन पत्र काटेका हुन् ।
उनले अहिले चितवनका ८० प्रतिशत मौरीका घार बाहिरी जिल्लामा रहेको जानकारी दिए। यहाँका मौरीपालकले मौरीको चरन क्षेत्र खोज्दै दाङ, अर्घाखाँची, प्युठान, रोल्पालगायतका जिल्लामा घार लैजाने गर्दछन् । सबैभन्दा बढी घार दाङमा लगिन्छ । त्यहाँ तोरी र चिउरी चरनका लागि लाने गरिन्छ । ७० प्रतिशत हाराहारी घार दाङमा भएको पौडेलले बताए।
महासङ्घका अनुसार ३३ जिल्लामा मौरीपालक किसानको सञ्जाल छ । मौरीपालक किसान विष्णु भुसालका अनुसार बाहिरी जिल्लामा घार लान नपाएमा यहाँको चरनले धान्ने अवस्था छैन ।
चितवनमा २१ लाख मौरीको गोला र २१ हजार मौरीका घार छन् । त्यस्तै पाँच सयको हाराहारीमा मौरीपालक किसान छन् । महासङ्घले जङ्गल फँडानी, तोरीमा विषादी, चरन क्षेत्रमा रोकलगायतले मौरीपालक किसानलाई समस्या भएको जनाएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मौरी जोन चितवनका प्रमुख मेघनाथ तिमल्सिना मौरी चरनले कृषकलाई बेफाइदा नहुने बताउनुहुन्छ । परागसेचित हुने बालीका लागि मौरी र अन्य कीरा महत्वपूर्ण हुने उनले बताए।
यस्ता बालीमा फूलको भाले अङ्गमा रहेको परागकण स्त्री केशरमा सेचन गराउने काम गर्ने हुँदा बाली पनि राम्रो हुने उनको भनाइ छ । मौरी डुलेर बिगार हुन्छ भन्ने कृषकको धारण रहेको बताउँदै उनले त्यस्तो नभई पुष्प र पराग दुवै खेरजानबाट बच्ने बताए।
महासङ्घका अध्यक्ष शर्माका अनुसार नेपालमा अहिले ५७ हजार मेलिफेरा र एक लाखमाथि सेराना मौरीको घार रहेका छन् । पाँच हजार ५०० व्यावसायिक कृषक रहेका छन् ।