यसवर्ष जिल्लामा कूल उत्पादन स्याउमध्ये आधा भन्दा बढी बिक्री नभएको पाइएको छ । देशको एक मात्र जिल्ला राष्ट्रिय सडक सञ्जालभन्दा बाहिर भएकाले यातायातकै असुविधाका कारण यति धेरै स्याउ बिक्री हुन नसकेको हो ।
एक हजार ५०० रोपनीमा चार सयभन्दा बढी बोटबाट यसैवर्षदेखि स्याउ फलाउन शुरु गर्नुभएका सिमकोट गाउँपालिका–६ का कृषक जयचन्द्र रोकायाले ८० क्वीन्टल स्याउ उत्पादन भए पनि रु १० हजारको मात्र बिक्री भएको बताए।
पच्चीस देखि ३० क्वीन्टल स्याउ भण्डारण गर्नुभएका रोकायाले उचित व्यवस्था नहुँदा १२ क्वीन्टलसम्म हाल सडेगलेको र कुहिएको बताए। “दश देखि १२ क्वीन्टल चाना (सुकुटी) बनाएर हिउँदमा पशुवस्तुलाई खोलेसँगै मिसाएर दिने तयारी गरेको छु”, उनले भने।
त्यसमध्ये केही घरका सदस्यले खाएको र केही आफन्तलाई दिने गरेको उनले बताए। यातायात सुविधा नभएकैले उत्पादित स्याउले बजार नपाउँदा तत्काललाई निरासा छाए पनि भविष्यमा राम्रै हुने विश्वास रोकायाले व्यक्त गरे। “स्याउ खेतीबाट राम्रो कमाइ हुने विश्वास थियो, अहिले ठेस लागेको छ”, उनले भने।
पालिका अध्यक्ष पदमबहादुर लामाले एक हजार २०० स्याउ बोटको फारम बनाए पनि चार सय बोटबाट स्याउ उत्पादन हुँदा ६० क्वीन्टल स्याउ फलेको तर ४० हजार रुपैयाँको मात्र बिक्री भएको बताए। उत्पादन राम्रो भएको अवस्थामा पनि बजारकै समस्याले हालसम्म बिक्री हुन नसकेको उनले बताए ।
धेरै लगानी गरेर स्याउ फारमबाट यसपाली ४० क्वीन्टल स्याउ घरको खाली कोठामा भण्डारण गरिएको र केही भने साथीभाइलाई उपहार दिँदै सकिएको उनले बताए। बाँकी कुहिएर खेर गएको लामाले बताए।
जिल्लाको नाम्खा गाउँपालिकाको केही भू–भाग बाहेक अन्य सबै क्षेत्रमा स्याउखेती लगाउन सकिने कृषि ज्ञान केन्द्रका कर्मचारी बलबहादुर फडेराले बताए। आर्थिक वर्ष ०७४ र ७५ सम्म जिल्लाभरिमा ५३० दशमलब ६९ प्रतिशत हेक्टर जमीनमा स्याउखेती लगाइएकोमा यसपाली स्याउका बोटबाट चार हजार १२० मेट्रिक टन उत्पादन भएको र त्यसमा दुई हजार एकसय मेट्रिक टन मात्र बिक्री हुनसकेको उनले बताए।
उनका अनुसार कूल उत्पादनमध्ये साढे तीन सय मेट्रिक टन स्याउ कुहिएर खेर गएको छ । जिल्लामा जम्मा एक लाख ६३ हजार स्याउको बोट रहेको पनि उनले जानकारी दिए।