गत वर्षभन्दा यस वर्ष कञ्चनपुर र कैलालीमा धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ ।
धानखेतीका बेला विभिन्न प्रकोप नदेखिनुका साथै सिञ्चित क्षेत्रको वृद्धि र किसानलाई विभिन्न सुविधा उपलब्ध गराएका कारण उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । कञ्चनपुर र कैलालीको एक लाख ४६ हजार ५३७ हेक्टर क्षेत्रफलमध्ये एक लाख १९ हजार ७४६ हेक्टरमा धानखेती गरिँदै आएको छ ।
आर्थिक वर्ष २०७३,७४ मा कैलालीमा कूल ३७ हजार ५०० मेट्रिकटन र कञ्चनपुरमा १६ हजार ९३६ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख गोकुलप्रसाद बोहराले जानकारी दिए। उक्त परिमाण अघिल्लो आर्थिक वर्षको भन्दा १० प्रतिशतले बढी हो । कञ्चनपुर र कैलालीमा धान उत्पादनमा वृद्धि हुँदै गएकाले सुदूरपश्चिम प्रदेशलाई धानमा आत्मनिर्भर बनाउन सकिने बोहरा बताए। प्रदेशमा सबैभन्दा बढी कैलालीमा ७१ हजार २५० हेक्टर तथा कञ्चनपुरमा ४८ हजार ४९६ हेक्टरमा धानखेती गरिँदै आएको छ ।