खेतीयोग्य जमीन मासिने र नासिने क्रमले कृषिकर्मसमेत प्रभावित हुँदै गइरहेका बेलामा कृषिमा आकर्षण बढाउन बुटवल उपमहानगरपालिकाले किसानको धान धितो कार्यक्रम लागू गरेको छ ।
उपमहानगरपालिकाले ल्याएको यस किसिमको कार्यक्रमबाट किसानले आफूले उत्पादन गरेको धान वित्तीय संस्थामा धितो राखेर कृषि ऋण प्राप्त गर्न सक्नेछन् ।
अनुदानका रुपमा किसानलाई वितरण गरेको मौलिक पोषक बीउबाट उत्पादित धानलाई धितोका रुपमा राख्ने व्यवस्था मिलाइएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताए।
किसानले उत्पादन गरेको धानलाई टोलकै सहकारीमा धितो राखेर किसानलाई ऋण प्रदान गर्ने कार्यक्रम यस क्षेत्रको नयाँ अभियान हो। धानखेतीका लागि उपयुक्त योजनाअनुसार बुटवल उपमहानगरपालिका वडा नं १४ सेमलारमा रहेको सिम्रिक कृषि सहकारी संस्था र बुटवल उपमहानगरपालिका बीचमा समझदारी गरिएको छ ।
बुटवलको सेमलार, मोतिपुर क्षेत्रका किसानले उत्पादन गरेको धान उचित भण्डारणको अभावमा उचित मूल्यविना नै बिक्री गर्दै आएका थिए। अब किसानले सहकारीमा आफूले उत्पादन गरेको धानलाई सहकारीमा धितोका रुपमा राखेर कृषि ऋण लिन पाउँछन् । त्यस क्षेत्रका करीब तीन हजार हेक्टरमा धानखेती हुँदै आएको छ । ती खेतमा सिँचाइकोसमेत प्रबन्ध छ।
किसानहरु आपसमा सहमतिमा आएका ‘एक गाउँ एक बस्ती’ बनाएर बाँकी जग्गामा व्यावसायिक खेती गर्ने सोच उपमहानगरपालिकाले लिएको उपप्रमुख गुमादेवी आचार्यले बताए।
प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले किसानको समस्यालाई सामाधान गर्नका लागि पहिलो चरणमा किसानको धानलाई भण्डारणमा अनुदान प्रदान गरिएको उल्लेख गर्दै अब प्रोत्साहनका नयाँ कार्यक्रम बनाइने बताए।
आगामी दिनमा अन्य गहुँ, दालजन्य कृषिउपजसमेत भण्डार गरी किसानलाई ऋण उपलब्ध गराउने तयारी गरिएको उनको भनाइ छ । किसानले उत्पादन गरेको धानलाई सहकारीमा भण्डारण गरेबापत सहकारीले लिने भाडा रकम नगरपालिकाले प्रदान गर्नेछ । यसका लागि नगरपालिकाले दुई लाख ५० हजार रुपैयाँको सम्झौता सहकारीमार्फत गरेको हो ।
किसानले यसरी भण्डारण गरेको धानलाई धितोका रुपमा सहकारीले स्वीकार गरी ऋणसमेत प्रदान गर्ने सम्झौता गरिएको छ । ऋण चुक्तापश्चात् किसानले आफ्नो धान बिक्री गर्न पाउने सिम्रिक कृषि सहकारी संस्थाका अध्यक्ष गणेशबहादुर गाह मगरले जानकारी दिए। दश कट्ठा क्षेत्रफल रहेको सहकारीले २५० मेट्रिकटनको खुला सेड निर्माण गरेको छ भने एक हजार ७५० मेट्रिकटन क्षमताका दुई वटा गोदाम घर निर्माण गरेको छ।