जापान निर्यात हुने अर्गेलीको माग उच्च रहे पनि मागबमोजिमको कच्चा पदार्थ निर्यात हुन सकिरहेको छैन् ।
जापानी नोट ‘येन’को छपाइमा प्रयोग हुँदै आएको अर्गेलीको माग उच्च भएसँगै यसको व्यावसायिक खेतीतर्फ कृषकको आकर्षण भने बढ्दै गएको छ ।
पाँचथरको फालेलुङको दाजुभाइ जडीबुटी उत्पादन तथा प्रशोधन सहकारी संस्था लिमिटेडको अगुवाइमा उत्पादित अर्गेली गत वर्षबाट जापान निर्यात हुन थालेको छ । सहकारीले गत वर्ष १३ टन अर्गेली जापान निर्यात गरेको छ । यसबाट ५९ लाख १५ हजार रुपैयाँ आम्दानी पाँचथरका गाउँमा भित्रिएको छ ।
केही प्रशोधित अर्गेली प्रतिकिलो ४५५ रुपैयाँमा बिक्री भइरहेको सहकारीका अध्यक्ष ओमराज थाम्सुहाङले जानकारी दिए। उनका अनुसार यस वर्ष २० टन अर्गेली उत्पादन गरी जापान निर्यात गर्ने लक्ष्य सहकारीले लिएको छ । स्थानीयवासीको आय वृद्धिका लागि अर्गेलीलाई भरपर्दो माध्यमको रूपमा विकास गर्ने लक्ष्य लिइएको थाम्सुहाङको भनाइ छ ।
उक्त सहकारीको अगुवाइमा पाँचथरको च्याङथापु, फलैँचा, ओयाम, सिदिन, लुङरुपा, फिदिमलगायत स्थानमा अर्गेली खेती विस्तार र व्यावसायिक उत्पादन थालिएको छ । यस वर्षको सङ्कलन कार्य शुरु भएको जानकारी दिँदै अध्यक्ष थाम्सुहाङले जापानले एक लाख ५० हजार किलोग्राम लोक्ता मागे पनि मागको करीब २५ प्रतिशत मात्र अर्गेली निर्यात गर्न सकिने बताए।
मागबमोजिमको उच्चस्तरको प्रशोधित अर्गेली निर्यात गर्ने प्रयत्न भने थालिएको थाम्सुहाङको भनाइ छ। देशभरिबाट करीब ६० टन अर्गेली जापान निर्यात हुने गरेको छ । राम्रो मूल्यमा बिक्री हुन थालेपछि कृषकमा अर्गेली विस्तार गर्ने आत्मविश्वास बढेको थाम्सुहाङले बताए।
चिसो मौसम र हावापानी भएका स्थानमा खेर गइरहेको कान्ला र पाखो बारीमा लगाउन मिल्ने अर्गेलीको बिरुवाबाट चार वर्षपछि लोक्ता निकाल्न मिल्ने हुन्छ। सहकारीले जापानमा माग भएअनुसारको अर्गेली उत्पादनका लागि संस्थागतरूपमै प्रयत्न गर्दै आएको छ ।
माग उच्च भएसँगै पछिल्ला तीन वर्षमा मात्रै फालेलुङ गाउँपालिकाको वडा नं ७ र ८ पानीपरुवा तथा वतासे, फिदिम नगरपालिका–३ लालीखर्क र लब्रेकुटी, फिदिम नगरपालिका–८ इथुङ र रानीटारमा करीब चार हजार रोपनी क्षेत्रफलमा अर्गेलीको व्यावसायिक खेती शुरु भएको छ । यी स्थानमा व्यावसायिक अर्गेली खेती विस्तारका लागि सोही सहकारी संस्थाले सहयोग गरेको हो ।
जापानमा माग भएबमोजिमको उच्च गुणस्तरको अर्गेलीको बोक्रा बिक्री गरेर बाँकी रहेको कच्चा पदार्थले स्थानीयस्तरका नेपाली हाते कागज उद्योग सञ्चालन गर्न सकिने कृषकको भनाइ छ। स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न मद्दत पुग्ने भन्दै पाँचथरको फिदिम नगरपालिकाले वडा नं ३, ८ र १४ मा कृषकलाई खेती प्रविधि र हाते कागज निर्माणसम्बन्धी तालीमसमेत सञ्चालन गर्दै आएको छ ।
पाँचथरबाट गत आव २०७४ र०७५ मा एक लाख दुई हजार ७८२ किलो अर्गेलीको कच्चा पदार्थ निर्यात भएको डिभिजन वन कार्यालय पाँचथरको तथ्याङ्क छ ।
चालु आवको पहिलो चौमासिकमा २९ हजार ५०० किलो अर्गेली निर्यात भएको कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीले जानकारी दिए। जिल्लाको ६८ दशमलव ७७ हेक्टर जमीनमा अर्गेली रोपण गरिएको तथ्याङ्क छ । यद्यपि बढ्दो खेती विस्तारको क्रमले तथ्याङ्कभन्दा बढी क्षेत्रफलमा अर्गेली लगाइएको कृषकको भनाइ छ । जिल्लाका सामुदायिक र कबुलियती वनमा समेत अर्गेली लगाउने प्रचलन बढेको छ ।