सरकारले दूध तथा दूधजन्य पदार्थमा स्वच्छता कायम गर्न ‘दूध तथा दूधजन्य पदार्थको स्वच्छता एवम् गुणस्तर निर्देशिका, २०७५’ ल्याएको छ।
आम उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर खाद्य तथा गुण नियन्त्रण विभागले उक्त निर्देशिका ल्याएको हो।
निर्देशिकाले दूध तथा दूधजन्य पदार्थको उत्पादनदेखि उपभोगको चरणसम्म स्वाच्छता एवम् उचित स्तर कायम राख्न सहयोग गर्ने विभागले जनाएको छ।
दूध दिने गाई, भैँसी निरोगी हुन पर्ने, पशुलाई खुवाउने दाना स्वच्छ, गुणस्तर र पोषणयुक्त हुनुपर्ने, कुहिएको ढुसी परेको खाद्य पदार्थ पशु आहारको रूपमा प्रयोग गर्न नहुने निर्देशिकामा उल्लेख छ।
निर्देशिका अनुसार, दूध प्रशोधनको क्रममा दूध दुहुने भाँडो सफा र सुख्खा हुन पर्ने, दुहेको दूध अर्को भाडामा खन्याए पछि दुहेको भाँडा तुरून्तै तातोपानीले पखाल्नु पर्ने, दूधमा पानी लगायत बाह्य पदार्थ मिसावट गर्न पाइने छैन।
‘सङ्कलन गरिएको दूध दुई घण्टा भित्रमा चिस्यान केन्द्रमा पुर्याइसक्नु पर्ने छ। दूध ढुवानी गर्दा प्लाष्टिकको क्यान प्रयोग नगरी आल्मूनियम तथा स्टिलको प्रयोग गर्नु पर्ने’, निर्देशिकामा भनिएको छ।
निर्देशिका बमोजिम डेरी उद्योगमा दूध प्रशोधन गर्ने ठाउँमा आगन्तुकलाई प्रवेश निषेध गर्न भनिएको छ। दूध प्रशोधनगर्दा मेसिनरी औजारको प्रयोग गर्नुपर्ने, प्रशोधन कक्षमा कामगर्दा कामदारले सफा टोपी, माक्स, एप्रोन, पञ्जा, जुत्ता लगाउनु पर्ने छ।
दूध सम्बन्धी नयाँ निर्देशिकाले दूध प्याकिङ गर्दा रवरले प्याकिङ गर्न नपाइने भएको छ। कम्पनीको नाम, ठेगानासमेत प्याकिङ दूधमा उल्लेख हुन पर्ने छ। यो निर्देशिका नेपालभरका दूध उत्पादन, सङ्कलन, चिस्यान केन्द्र सञ्चालन, प्रशोधन, भण्डार, ढुवानी तथा बिक्री वितरण गर्ने सबै व्यवसायीमा लागू हुनेछ।
निर्देशिका चैत देखि कार्यान्वयनमा आउने विभागले जनाएको छ। दूध उत्पादन, सङ्कलन, प्रशोधन र बिक्री वितरण कार्य निर्देशिका बमोजिम नभए १० हजार रूपैयाँ जरिवाना लाग्ने निर्देशिकामा उल्लेख छ। उक्त निर्देशिका चैत देखिनै सञ्चालनमा आउने भएपछि उद्योगी तथा व्यवसायी भने चिन्तित छन्। तीन महिना भित्रनै निर्देशिका बमोजिम सबै काम गर्न समय नपुग्ने भन्दै एक वर्ष यसलाई सचेतनामूलक कार्यक्रम अनुरूप लैजान व्यवसायीले विभागलाई आग्रह गरेका छन्।