तुलसीपुर उपमहानगरपालिकाले व्यवसायिक तरकारी खेती गर्ने किसानलाई अनुदान दिने घोषणा गरेको छ।
मेयर घनश्याम पाण्डेले व्यवसायिक तरकारी खेती गर्ने किसानलाई एक लाखसम्म अनुदान दिने तयारी गरिएको बताए।
त्यस्तै, उनले व्यवसायिक रूपमा तरकारी खेती गर्ने किसानलाई प्राविधिक उपकरण, डिपवोरिङ, उन्नत विउ विजनसमेत सहयोग गरिने आश्वासन बाँडेका छन्। ३० कठ्ठा जग्गासम्म बगर खेती गर्ने किसानलाई एक लाख रुपैयाँ बराबरको विभिन्न सहयोग उपमहानगरपालिकाले गर्ने पाण्डेले बताए।
‘हाम्रो उद्धेश्य कृषि क्रान्ति हो,’ पाण्डेले भने, ‘हाम्रो सहयोग कृषिमा युवा आकर्षण बनाउनु पनि हो।’
त्यस्तै, उनले व्यवसायिक रूपमा वसन्ती मकैको खेती गर्ने किसानलाई विउको सम्पूर्ण अनुदान दिने प्रतिवद्धता व्यक्त गरेका छन्।
‘व्यवसायिक रूपमा खेती गर्ने किसानलाई कुनै पनि कुराको अभाव हुने दिने छैनौं,’ मेयर पाण्डेले भने।
उत्पादन वृद्धिका साथै बजारीकरणमा समेत उपमहानगरपालिकाले सहयोग गर्ने मेयर आश्वासन बाँडेका छन्।
उपमहानगरपालिकाको कृषि शाखाले व्यवसायिक तरकारी खेतीतर्फ किसानलाई थप आकर्षित गर्न वसन्ते मकै र वगर खेतीमा अनुदान दिन थालेको जानकारी दिएको छ ।
कृषि शाखाका प्राविधिक सहायक शंकर न्यौपानेले वर्षमा तीन पटक वाली लगाउन कृषकलाई प्रोत्साहित गरिने बताए। वसन्ते मकै व्यवसायिक कृषिका लागि निकै उपयोगी रहेको न्यौपानेले जानकारी दिए। उनले एक कठ्ठा क्षेत्रफलमा मकै खेती गर्न दुई हजार जति लगानी लाग्ने र त्यसबाट दस हजारसम्म आम्दानी हुने दाबी गरेका छन्।