इलाम चियाका लागि प्रख्यात क्षेत्र हो ।
यहाँ उत्पादनका हिसाबले मात्र नभइ मनोरञ्जनात्मक दृष्टिले चियाको महत्व ठूलो छ । पछिल्लो समय यहाँ चिया किन्न आउनेसँगै चियाबारीको अवलोकन गर्ने र वनभोज खाने सम्मका बाह्य तथा आन्तरिक पर्यटक भेट्टिन्छन्। चियाको यही प्रख्यात क्षेत्रमा पछिल्लो समय भने कफीको व्यावसायिक खेती शुरु हुन थालेको छ।
“चियाकै प्रतिस्थापनका रूपमा चिनिएको कफीबाट लाखौं आम्दानी गर्दै आएका छन्, अन्य परम्परात भन्दा कफीखेती सजिलो भएकाले यसतर्फ आकर्षित भएको हो,” इलाम माइजोगमाइका कफी किसान गञ्जु प्रधान बताउँछन्। प्रधानले हाल वार्षिक तीन देखि चार सय मन (एक मनमा ४० किलो) कफी उत्पादन गर्छन। कफीबाट राम्रो आम्दानी हुने बुझेपछि अन्य खेतीलाई विस्थापन गरेर कफी शुरु गरेको उनको भनाइ छ।
खेती मात्र नभइ बिक्रीसमेत आफै गर्दै आएका प्रधानले गाउँघरमा कफी खेतीका बारेमा जानकारी समेत दिँदै आएकाछन्। “पराम्परात खेती गर्नुभन्दा कफीबाट धेरै फाइदा मिल्छ । चारदेखि पाँचवर्ष सम्ममा कफीबाट उत्पादन लिन सकिन्छ,” उनले भने।
प्रधानले थप्नुभयो,“हामी जेमा पनि दुःख नगरी हुदैन । दुःख गर्दा पनि आम्दानीमूलक क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ ।” आम्दानी मात्र नभइ बजार पनि राम्रो भएकाले यसको खेती शुरु गरेको किसानको भनाइ छ ।
तालीम तथा दक्षजनशक्ति भएमा खेती गर्न सहज हुने अर्का कफी किसान दीप लामाको भनाइ छ । सूर्योदय नगरपालिकाको ‘फिक्कल टी एण्ड कफी कम्पनी’ खोलेका लामाले कफी खेती मात्र नभइ प्रशोधन गर्ने गरेका छन्।
उनले यहाँ कफीको प्रशोधन गरेर काठमाडौँंमा बेच्ने गरेको छ। बीस वर्षअघि इलामको केही ठाउँमा कफी लगाइए पनि उत्पादनले राम्रो भाउ नपाउँदा खेती विस्तार हुनसकेको थिएन । विश्व बजारमा नेपाली कफीको माग बढेसँगै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुममा ठूलो क्षेत्रमा कफी लगाइएको चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्र अधिकारीले बताए।
नेपालको उच्च पहाडी क्षेत्रमा उत्पादन भएको कफीको माग राम्रो छ अधिकारीले भने, “पहाडी क्षेत्रमा उत्पादन भएको कफीको गुणस्तर राम्रो हुने भएकाले माग राम्रो छ ।”
नेपालमा अरविगा जातको कफी लगाइने गरेको छ । समुद्री सतहको आठ सयदेखि १६ सयसम्मको उचाइमा कफी राम्रो उत्पादन हुन्छ । प्रमुख अधिकारीका अनुसार नेपालमा पाँच सय मेट्रिक टन कफी उत्पादन हुन्छ भने विश्व बजारमा यहाँको सात हजार टन कफीको माग छ। नर्सरीबाट बगैँचामा लगाएको तीन वर्षपछि फल्न शुरु हुने कफी रोपेको ५० वर्षसम्म उत्पादन हुन्छ । एउटा बोटमा वर्षेनी पाँच,सात किलोसम्म कफी फल्छ । अहिले प्रतिकिलो ५० देखि ८० रुपियाँसम्ममा कफीको दाना किनबेच हुने गरेको छ ।