रामपुर नगरपालिका–५ राङभाङ बस्ने टिकीसरा गौतमले तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेका छन।
आजभन्दा २३ वर्षअघि देखि गौतमले व्यावसायिक रुपमा तरकारी खेती थालेका हुन। उनले अहिलेसम्म पनि यो व्यवसायलाई निरन्तरता दिँदै आएका छन। करीब चार रोपनी क्षेत्रफलमा तरकारी लगाएर वार्षिक पाँच लाख रुपैयाँ बराबरको आम्दानी गर्छन।
“तरकारी खेतीबाट नै घर, छोराछोरीको पढाइ खर्च राम्रैसँग चलेको छ, दिनहुँ तरकारी बेच्यो हातमा दाम परिहाल्छ,” गौतमले भने। उनको दैनिकी तरकारी लगाउने, गोडमेल र बिक्री गर्ने कार्यमा बित्छ । यहाँ उत्पादित तरकारी रामपुरको बेझाड बजारमा बिक्री हुन्छ । “व्यापारी घरमै पनि आउँछन्, तरकारी टिप्न शुरु भएको छैन, तरकारी बोटमै हुँदा पहिले नै पैसा बुझाएर जान्छन्,” उनले भने।
तरकारी खेतीबाटै गौतमको पाँच जना परिवारको गुजारा राम्रोसँग चलेको छ । गौतमले बाह्रै महीना मौसमी तथा बेमौसमी जातका तरकारी लगाउने गर्छन।
सिँचाइका लागि गौतमले इनारबाट पानीको व्यवस्था मिलाउनुभएको छ । गौतम यस क्षेत्रमै व्यावसायिक रुपमा तरकारी खेती गर्ने पहिलो कृषक हुन। अहिले भने गाउँघरमा उनको व्यवसायको धेरैले सिको गर्दै तरकारी खेती गर्न थालेका छन् ।
गौतमलाई तरकारीमा लाग्ने रोग कीरासम्बन्धी राम्रो ज्ञान छ। “काम गर्दै जाँदा अहिले कृषि प्राविधिकसँग सोधपुछ गर्नै पर्दैन, तरकारी खेतीमा धेरै अनुभव लिइयो, गाउँघरमा छिमेकीलाई रोग, कीराबारे आफ्नो अनुभव बताउँदै समस्याको समाधान गर्न सक्ने भए,” कृषक गौतमको भनाइ थियो ।
कहिलेकाँही बाहिरबाट केही व्यापारीले तरकारी रामपुरमा भित्र्याउँदा बजारमा भने अनुसारको मूल्यमा बिक्री गर्न समस्या हुने गरेको गौतम बताउँछन। फुर्सदको समय खाली बस्नभन्दा तरकारी लगाएर आयआर्जन गर्न छिमेकी महिलालाई पनि उनी अनुरोध गर्छन।