जिल्लामा पछिल्लो समय कृषि तथा पशुपालनतर्फ युवाको आकर्षण बढ्न थालेको छ ।
विदेश तथा सरकारी जागिर मात्र होइन आफैँ उद्यम गरे पनि राम्रो मुनाफा लिन सकिने भन्दै यहाँका युवा सोप्रति आकर्षित हुन थालका हुन । शिखर नगरपालिका–५ तिजालीका युवा डबल बोहराले गाउँमै समूह गठन गरी सामुहिक बाख्रापालन व्यवसाय सुरु गरेका छन्।
डोटी बहुमुखी क्याम्पसबाट राजनीति शास्त्रमा स्नाकोत्तर गरेर अनेरास्ववियुका जिल्ला अध्यक्षसमेत रहे उनले आय आर्जन गर्न उक्त व्यवसाय रोजेको बताए।
सरकारले सञ्चालन गरेको युवा उद्यम कार्यक्रमबाट विनाब्याज पाँच लाख ऋण लिएर उनले बाख्रापालन गरेका हुन्।
युवा समितिमार्फत काफली बचत तथा ऋण सहकारी संस्था लिमिटेड र प्रगतिशील कृषक समूहबीच सहकार्य गरेर व्यावसाय सुरु गरेको उनले बताए। जमुनापारी क्रस र खरी जातका बाख्रापालन गरिरहेका प्रगतिशील कृषक समूहका उपाध्यक्ष समेत रहेका बोहरा बाख्रापालन व्यवसाय सुरु गर्न पाएकोमा खुशी छन्।
त्यस्तै सोही कृषक समूहका दलबहादुर बोहराले पनि बाख्रापालन गरिरहेका छन्। युवा समितिले युवा उद्यम कार्यक्रम अन्तर्गत गत वर्ष जिल्लाका दुई उद्यम समूहलाई आर्थिक सहयोग गरेको समितिका कम्प्युटर अपरेटर गणेश मल्लले जानकारी दिए। समितिले बाख्रापालन मात्र नभएर आधुनिक सीप विकास मञ्च लामीखालमा खुकुरी, चक्कु, चुलेसी निर्माण व्यवसायका लागि पाँच÷पाँच लाख रुपैयाँ सहयोग गरिएको उनले जानकारी दिए।
युवा समितिले लगानी गरेका उद्यम समूहले सन्तोषजनक काम गरेको र जिल्लामा बेरोजगार एवं अनुत्पादक भएर बसेका युवाले पनि आय आर्जनमूलक व्यवसाय गर्नुपर्नेमा समितिका अध्यक्ष बमबहादुर बमले बताए।