पोषणका हिसाबले महत्वपूर्ण अन्न मानिने भटमासको व्यावसायिक खेती प्रवद्र्धन गरिने भएको छ ।
कृषि विभागअन्तर्गतको निर्देशनालयले भटमासबाट विभिन्न खाद्यन्न उत्पादन गर्ने व्यवसायीसँगको सहकार्यमा व्यावसायिक भटमासखेती प्रवद्र्धनको योजना बनाइएको बाली विकास तथा कृषि जैविक संरक्षण निर्देशनालयले जनाएको हो।
निर्देशनालयका वरिष्ठ बालीविज्ञ प्रकाश आचार्यले अहिलेसम्म व्यावसायिक रुपमा खेती नहुँदा झण्डै ९० प्रतिशत भटमास आयात भइरहेको बताए। उनले भने, “किसानले आफूलाई चाहिने जति भटमास रोपेपनि बेच्नकै लागि भने रोपेको पाइँदैन ।”
भटमासको उपयोगबारे किसानलाई बुझाउन, यसबाट तेल बनाउन र खाद्यन्नकै रूपमा प्रयोग गर्नाका लागि उत्पादनमा आकर्षित गर्न सके आयात कम हुने वरिष्ठ बालीविज्ञ आचार्यले उल्लेख गरे। भटमासको उपयोग नेवार समुदायले बढी गर्छन् भने ग्रामीण क्षेत्रमा तरकारी र खाजाको रूपमा पनि यसको प्रयोग हुँदै आएको छ। शहरी क्षेत्रमा यसको प्रयोग पहिले भन्दा बढेकाले यसको आयात बढेको हो ।
उनले भने, “किसानलाई कसरी थोरै क्षेत्रफलमा धेरै उत्पादन गर्ने र कसरी बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउनपर्छ।”निर्देशनालयले मुख्य बालीको प्रवद्र्धनसँगै रैथाने बालीको संरक्षण र प्रवद्र्धनका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहिले जिल्ला कृषि विकास कार्यालयमार्फत कार्यक्रम सञ्चालन हुने गरेकामा अहिले कृषि ज्ञान केन्द्र र स्थानीय तहमार्फत किसान लक्षित कार्यक्रम सञ्चालन भइरहेको छ।